
गुवाहाटी, 18 अगस्त (हि.स.)। पर्यावरण संरक्षण एवं हरित वातावरणलाई प्रेरित गर्ने उद्देश्यले गवाहाटीको सोनापुर स्थित प्रथम वाहिनी सशस्त्र सीमा बल (एसएसबी)- को “जी” समवायले मङ्गलवार होजाईको नन्दपुर गाउँमा स्थानीय नागरिकहरूसित मिलेर वृक्षारोपण अभियान सञ्चालन गऱ्यो। अभियानको आयोजन प्रथम वाहिनी एसएसबीका कमाण्डेन्ट सुनिल कौशिकको मार्गदर्शनमा गरिएको हो।
कार्यक्रममा “जी” समवाय, होजाईका समवाय प्रभारी इन्स्पेक्टर (जीडी) मुकेश कुमार मीणाको नेतृत्वमा एसएसबीका जवानहरू तथा स्थानीय नागरिकहरूले उत्साहपूर्वक भाग लिए। यसावधि नन्दपुर गाउँका विभिन्न उपयुक्त स्थानहरूमा फलदार, छायादार एवं पर्यावरणको निम्ति उपयोगी विभिन्न प्रजातिका बिरूवाहरू रोपियो।
कार्यक्रममा स्थानीय नागरिकहरूलाई बोट-बिरूवाको महत्व, पर्यावरण संरक्षण तथा प्राकृतिक संसाधनहरूको संरक्षणप्रति जागरूक गरियो। समवाय प्रभारीले उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै भने, वृक्ष जीवनको आधार हो जसले स्वच्छ वायु, छाया औ फल प्रदान गर्नको साथै पर्यावरण सन्तुलनलाई कायम राख्नमा महत्वपूर्ण भूमिका निभाउँछ। अधिकभन्दा अधिक बिरूवा रोप्ने तथा रोपेका बिरूवाहरूलाई हुर्काउनको निम्ति हेरचाह गर्नु हामी सबैको सामूहिक जिम्मेवारी हो।
यस अवसरमा स्थानीय मानिसहरूले पनि सक्रिय सहभागिता जनाउँदै वृक्ष एवं पर्यावरणको सुरक्षाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे।
अभियानको माध्यमबाट “एउटा रूख रोपौं, त्यसको हेरचाह गरौं अनि पर्यावरणलाई सुरक्षित बनाऔं”- को सन्देश दिइयो। कार्यक्रमले पर्यावरणसँगसँगै एसएसबी र स्थानीय नागरिकहरूबीच आपस्तमा सहयोग, समन्वय तथा सामाजिक सहभागितालाई पनि मजबुत बनायो।
एसएसबी अनुसार अभियानको मुख्य उद्देश्य हरित क्षेत्रमा वृद्धि, पर्यावरण संरक्षणप्रति जन-जागरूकता बढ़ाउनु तथा मानिसहरूलाई प्रकृति र वृक्ष संरक्षणको लागि प्रेरित गर्नु थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा