सियालदह स्टेशन बाहिर भोजन पसलमा आगो लाग्नाले खैलाबैला
sealdah


कोलकाता, 31 अगस्त (हि.स.)। सप्ताहको पहिलो कार्य दिवस सोमवार बिहान 9.15 बजे सियालदह रेलवे स्टेशन परिसर बाहिरस्थित एक भोजन पसलमा अचानक आगलागी भएका कारण यात्रीहरू एवं बटुवाहरूमा कोकोहोलो मचियो। हेर्दा-हेर्दै क्षेत्रमा बाक्लो कालो धुँवा फैलियो। बिहानको व्यस्त समयमा भएको यस घटनाले स्टेशन परिसरमा सन्त्राष फैलायो।

शुरुवाती जानकारी अनुसार सियालदह दक्षिण शाखाको प्रवेश द्वार नजिकै अवस्थित भोजन पसल (सियालादह फूड प्लाजा)-बाट सोमवार बिहान अचानक धुँवा निक्लिरहेको देखियो, त्यसपछि क्षणभरमै धुँवा द्रूत गतिमा बढ़ेर सम्पूर्ण क्षेत्रलाई आफ्नो चपेटमा लियो। घटनाको सूचना तत्कालै दमकल विभागलाई दिइयो।

सूचना पाउनसाथै दमकलका तीन वटा वाहनहरू घटनास्थलमा आइपुगे अनि आगोलाई निभाउने प्रयास शुरू गरे। घना कालो धुँवाको कारणले दमकलकर्मीहरूलाई आगोको श्रोतसम्म पुग्न धेरै कठिन पऱ्यो। दमकलकर्मीहरूले आगोको श्रोत पत्तो लगाएर त्यसलाई निभाउने काम शुरू गरे।

घटनापछि रेलवे सुरक्षा बल र कोलकाता पुलिस पनि घटनास्थलमा पुग्यो। कुनै ठूलो सम्भावित अव्यवस्थालाई रोक्नको लागि घटनास्थललाई घेराबन्दी गरेर मानिसहरूलाई आगो लागेको ठाउँदेखि टाड़ा राखियो।

प्रारम्भिक रूपमा आशङ्का व्यक्त गरिँदैछ कि भोजन केन्द्रको भान्सामा आगो लागेको हो। बिजुलीको तार बिग्रिनुलाई सम्भावित कारण मानिँदैछ। तथापि आगलागीको वास्तविक कारणको पुष्टि जाँच पूरा भएपछि मात्र गर्न सकिनेछ।

हाल दमकलकर्मीहरू स्थितिलाई नियन्त्रित गर्नमा जुटेका छन्। यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande