
गुवाहाटी, 31 अगस्त (हि.स.)। गुवाहाटीको बाहिरी क्षेत्र खेत्री क्षेत्रमा राष्ट्रिय राजमार्ग- 27 को अवस्था अत्यन्त जर्जर भएको छ जसले गर्दा हिजोआज दुर्घटनाहरू भइरहेका छन् । यसरी नै सोमवार सवेरै सामान लिएर गइरहेको एउटा ट्रक राष्ट्रिय राजमार्ग-27 मा दुर्घटनाग्रस्त भयो। गए राती पनि यस्तै एउटा दुर्घटनामा 6 जना मानिसहरूको मृत्यु भयो भने अन्य 6 जना गम्भीर रूपमा घाइते भए।
आज बिहान धुपगगुडड़ी क्षेत्रमा दुर्घटना भएको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमको सहयोगले ट्रकलाई राष्ट्रिय राजमार्गबाट हटाइयो। तथापि यस दुर्घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन।
ज्ञात रहोस्, बितेको राती सड़कमा ठूल्ठूला खाल्डोहरू परेका कारण एउटा ट्राभलर बस ट्रकसित ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो जसमा ट्राभलरका चालक सहित 6 जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने अन्य 6 जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ।
स्थानीय मानिसहरूले गए राती राष्ट्रिय राजमार्ग प्राधिकरणको विरोधमा व्यापक विरोध प्रदर्शन गरे। स्थानीयहरूको भनाइ छ, राष्ट्रिय राजमार्ग प्राधिकरणद्वारा टोल गेटमा वाहनहरूबाट ट्याक्स असुलिन्छ, तर राष्ट्रिय राजमार्गको मरम्मतलाई लिएर कुनै कदम उठाइँदैन। यदि समयमै राष्ट्रिय राजमार्गको मरम्मत गरिएन भने भविष्यमा ज्यान-मालको ठूलो नोक्सान हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा