
सिलगढ़ी, 05 अगस्त (हि.स.)। प्रधाननगर पुलिस थानाको पुलिसले बिहारमा तस्करी गर्नुअघि सिलगढ़ी जङ्क्सनमा रहेको लजमा छापा मारेर लाखौँ रुपियाँ मूल्यको विदेशी रक्सी जफत गरेको छ। उक्त कारबाहीमा बिहारको सहरसा जिल्लाका एक युवकलाई पक्राउ गरिएको छ। पक्रा परेको युवकको पहिचान भास्कर कुमारको रूपमा भएको छ।
एक जना युवक ठूलो मात्रामा विदेशी रक्सी लिएर लजमा रहेको र उसलाई चाँड़े बिहार पठाउने तयारी गरिरहेको जानकारी पुलिसलाई प्राप्त भएको थियो। सूचनाको आधारमा प्रधाननगर पुलिस थानाको पुलिस टोलीले मङ्गलवार राति लजमा छापा माऱ्यो। छापा मार्दा पुलिसले भास्कर कुमारलाई एउटा कोठाबाट पक्राउ गऱ्यो। खोजीको क्रममा उसका दुई वटा ट्राली ब्यागबाट ठूलो मात्रामा विदेशी रक्सी जफत भयो। प्रारम्भिक सोधपुछमा अभियुक्तले जफत गरिएको रक्सी बिहार लैजान लागेको स्वीकार गरेको छ।
जफत गरिएको विदेशी रक्सीको बजार मूल्य लाखौँ रुपियाँ रहेको पुलिसले जानकारी गराएको छ।
पुलिसले अभियुक्तलाई बुधवार सिलगड़ी अदालतमा पेश गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी