
गान्तोक, 11 सेप्टेम्बर (हि.स.)। सिक्किमको एकमात्र कानुन महाविद्यालय बुर्तुकस्थित ल कलेजका विद्यार्थीहरू हडतालमा उत्रिएको विषयमा आफ्नो प्रतिक्रिया जनाउॅंदै विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले सरकारसँग उनीहरूका माग तत्काल पूरा गर्न आग्रह गरेको छ।
एसडीएफका वरिष्ठ उपाध्यक्ष (प्रचार-प्रसार) अम्बर राईले विद्यार्थीहरूले पढाइका लागि आवश्यक पूर्वाधार सुधारको माग गरिरहेको आज प्रेस विज्ञप्तिमा बताएका छन्। उनले विद्यार्थीहरूले वनभोज वा मनोरञ्जनका लागि रकम नभई आफ्नो अध्ययनको अधिकार मागिरहेको उल्लेख गर्दै महाविद्यालयको पूर्वाधार सुधार गर्नु सरकारको जिम्मेवारी रहेको बताए।
राईले विद्यार्थीहरूको मागप्रति सरकारले हेलचेक्र्याइँ गरेका कारण उनीहरू हडतालमा उत्रिन बाध्य भएको आरोप लगाउँदै वर्तमान सरकारलाई युवाविरोधी तथा विद्यार्थीविरोधी भएको दाबी गरे। एसडीएफले विद्यार्थीहरूको माग अविलम्ब पूरा गर्न माग गर्दै राज्यका युवा-विद्यार्थीहरूलाई आफ्नो भविष्य र सिक्किमको हितका लागि एकजुट हुन आह्वान गरेको छ।
साथै, एसकेएमका युवा कार्यकर्ताहरूलाई समेत ल कलेजका विद्यार्थीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन एसडीएफले आग्रह गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल