लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी


गान्तोक, 11 सेप्टेम्बर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा लेहमा भइरहेको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरणसम्बन्धी संसदीय स्थायी समिति (२०२५-२६) को अध्ययन भ्रमणमा सहभागी भएका छन्। उक्त जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

अध्ययन भ्रमणका क्रममा समितिले लद्दाख केन्द्रशासित प्रदेशका मुख्य सचिवको उपस्थितिमा भारतीय खाद्य निगम (एफसीआई) तथा केन्द्रिय भण्डारण निगम (सीडब्ल्यूसी) का अधिकारीहरूसँग छलफल गऱ्यो। छलफलमा खाद्यान्न भण्डारण, वितरण तथा अत्यावश्यक वस्तुको आपूर्तिका साथै क्षेत्रमा प्रभावकारी र उत्तरदायी सार्वजनिक वितरण प्रणाली सञ्चालनमा देखिएका चुनौतीबारे चर्चा गरिएको थियो।

समितिले उपभोक्ता मामिला विभाग र वित्तीय सेवा विभागका अधिकारीहरू तथा भारतीय स्टेट ब्याङ, पञ्जाब नेसनल ब्याङ्क, युको ब्याङ्क, ब्याङ्क अफ बडौदा र जम्मू-कश्मीर ब्याङ्कका प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गरेको थियो।

छलफलमा ग्राहक सेवा, बढ्दो ब्याङ्किङ तथा वित्तीय ठगी, उपभोक्ता सचेतना, प्रोत्साहन योजना तथा विभिन्न सरकारी अनुदानमा आधारित कार्यक्रमअन्तर्गत उपलब्ध ऋण सुविधालगायत विषयमा विचार-विमर्श गरिएको थियो। लाभार्थीहरूसम्म यस्ता सेवा तथा योजनाको प्रभावकारी पहुँच र वितरण सुनिश्चित गर्न आवश्यक उपायबारे पनि समितिले छलफल गरेको बताइएको छ।

अध्ययन भ्रमणले समितिलाई उपभोक्ता हित, खाद्य सुरक्षा, सार्वजनिक वितरण प्रणाली तथा वित्तीय समावेशिता सुदृढ गर्न आवश्यक उपायबारे स्थलगत चुनौती बुझ्ने र विचार-विमर्श गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande