
गान्तोक, 20 सेप्टेम्बर (हि.स.)। सिक्किम सरकारको सहकारिता विभागको समन्वय बैठक शनिबार तादोङस्थित सहकारी भवनको सम्मेलन कक्षमा विभागीय मन्त्री अरुणकुमार उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा विभागको मुख्यालय, जिल्लाहरू तथा शीर्ष सहकारी संस्थाहरूले आ-आफ्नो प्रगति, सञ्चालन भइरहेका गतिविधि, उपलब्धि तथा सहकारी क्षेत्रमा थप ध्यान दिनुपर्ने प्रमुख विषयबारे विस्तृत प्रस्तुति दिए।
प्रस्तुतिहरूको समीक्षा गर्दै मन्त्री उप्रेतीले राज्यभर सहकारीसम्बन्धी पहलहरूको प्रभावकारी कार्यान्वयन तथा निरन्तर समन्वयको आवश्यकतामा जोड दिए। उनले बैठकमा छलफल गरिएका विषयमा भएको प्रगति तथा कार्यान्वयनको समीक्षा गर्न आगामी तीन महिनापछि अर्को समन्वय बैठक आयोजना गरिने जानकारी दिए।
मन्त्रीले सहकारिता क्षेत्रलाई सुदृढ़ तथा प्रवर्द्धन गर्न विभाग र सहकारी संस्थाहरूलाई आफ्नो निरन्तर सहयोग रहने आश्वासन पनि दिए। उनले आवश्यकताअनुसार सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए।
उनले किसानहरूलाई थप वित्तीय सहयोग उपलब्ध गराउने तथा सहकारीमार्फत ऋण प्रवाह प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले किसान क्रेडिट कार्ड (केसीसी) ब्याज अनुदान पहलको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिए।
सहकारिता विभागकी सचिव जाबी थापाले मुख्यालय, जिल्लाहरू तथा शीर्ष सहकारी संस्थाहरूबाट प्रस्तुत गरिएका विवरणको समग्र संक्षिप्त प्रतिवेदन मन्त्रीसमक्ष प्रस्तुत गरिन्। उनले विभागको प्रगति, ध्यान दिनुपर्ने विषय तथा आगामी कार्यदिशाबारे जानकारी गराइन्।
उनले जिल्ला सहकारिता कार्यालय तथा शीर्ष सहकारी संस्थाहरूलाई आपसी समन्वयमा काम गर्दै बैठकमा भएका निर्णय तथा छलफल गरिएका पहलहरूमा समयमै आवश्यक कार्यवाही सुनिश्चित गर्न निर्देशन दिइन्। उनले सिक्किममा सहकारी आन्दोलनलाई सुदृढ़ बनाउने लक्ष्य हासिल गर्न मुख्यालय, जिल्ला तथा शीर्ष सहकारी संस्थाबीच समन्वित प्रयास आवश्यक रहेको बताइन्।
बैठक राज्यको सहकारी क्षेत्रको समग्र विकासका लागि समन्वित कार्य, नियमित अनुगमन तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा थप जोड दिने प्रतिबद्धतासहित सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल