
न्यूयोर्क, २३ सेप्टेम्बर (हि.स.)। इरानका राष्ट्रपति मसुद पेजेश्कियान मंगलबार स्थानीय समयअनुसार संयुक्त राष्ट्र महासभा (यूएनजीए) को ८१औँ सत्रमा सहभागी हुन न्यूयोर्क पुगेका छन्। उनले युद्धका विषयमा इरानको धारणा प्रस्तुत गर्नुका साथै तनाउ कम गर्न कूटनीतिक समाधानको प्रयास गर्नेछन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता हुन नसके इस्लामिक रिपब्लिक समाप्त गर्ने चेताउनी दिएका थिए।
इरना र अल जजिराको रिपोर्टअनुसार, पेजेश्कियानले बुधबार बिहान महासभा सत्रलाई सम्बोधन गर्नेछन्। उनले संघर्ष, कथित अपराध तथा अन्तरराष्ट्रिय संस्थाप्रति इरानको अविश्वासलगायत विषयमा तेहरानको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
न्यूयोर्क प्रस्थान गर्नुअघि पेजेश्कियानले भनेका थिए, “हामी अन्तरराष्ट्रिय मञ्चमा इरानको पक्षलाई दृढतापूर्वक राख्नेछौँ। संयुक्त राष्ट्रमा हामी उठाउने विषयमा इरानी जनताको दयनीय अवस्था, भएका अपराध र उत्पन्न अविश्वासलाई उजागर गर्नु समावेश छ। हामी धेरै पटक वार्ताको टेबलमा बसेका छौँ र सम्झौतामा हस्ताक्षर गरेका छौँ, तर दुर्भाग्यवश वाचा कसरी पूरा भएनन् र सम्झौताहरूलाई कसरी कुल्चिइयो भन्ने कुरा पूरै विश्वले देखेको छ।”
पेजेश्कियानको आगमन ट्रम्पले संयुक्त राष्ट्र महासभामा सम्बोधन गरेलगत्तै भएको हो। सम्बोधनका क्रममा ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इस्लामिक रिपब्लिकविरुद्ध सैन्य कारबाही गर्ने विकल्प प्रस्तुत गरेका थिए। उनले संघर्ष अन्त्य गर्न सम्झौता हुन नसके इस्लामिक रिपब्लिक समाप्त गर्न सक्ने चेताउनी दिएका छन्। उनले आफूले ठूलो निर्णय लिनुपर्ने बताएका छन्।
ट्रम्पले इरानले अमेरिकी मध्यावधि निर्वाचनमा आफ्नो प्रदर्शन कस्तो हुन्छ भन्ने कुराको प्रतीक्षा गरिरहेको दाबी गरेका छन्। उनले निर्वाचनले तेहरानप्रतिको आफ्नो दृष्टिकोणमा कुनै प्रभाव नपार्ने बताए। उनले भने, “इरानको मामिलामा म निर्वाचनलाई बिल्कुलै महत्व दिँदिनँ र दिने पनि छैनँ। यो मेरो दिमागमा समेत आउँदैन। मेरा लागि एउटै कुरा महत्वपूर्ण छ, इरानसँग कहिल्यै पनि आणविक हतियार हुनुहुँदैन।”
रिपोर्टअनुसार, ट्रम्पले तेहरानविरुद्ध अमेरिकी सैन्य कारबाहीबारे बोल्न थालेपछि इरानी प्रतिनिधिमण्डलका सदस्यहरूले सभाकक्षबाट बाहिरिएका थिए। इरनाका अनुसार, न्यूयोर्क प्रस्थान गर्नुअघि पेजेश्कियानलाई प्रथम उपराष्ट्रपति मोहम्मद रजा अरेफ, सर्वोच्च नेताको कार्यालयका अन्तरराष्ट्रिय मामिला उपप्रमुख हुज्जतोलइस्लाम वालमोस्लेमिन मोहसेन कोमी तथा इरानी मन्त्रिपरिषद्का सदस्यहरूले औपचारिक रूपमा बिदाइ गरेका थिए।
न्यूयोर्क बसाइका क्रममा पेजेश्कियानले त्यहाँ उपस्थित विभिन्न राष्ट्राध्यक्षसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै, अमेरिकामा रहेका शिक्षित इरानी, अमेरिकी विशिष्ट व्यक्तित्व तथा विचार समूहका प्रतिनिधिसँग पनि छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ। पेजेश्कियानको सम्बोधन यस्तो समयमा हुन लागेको छ, जतिबेला संयुक्त राष्ट्रमा वासिङ्टन र तेहरानको अडानबीच गहिरो मतभेद रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल