यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
यूएनबीका समर्थक सुरज सेवा, मनिस रसाइली र इत्तेफाक उश्मानी


गान्तोक, 23 सेप्टेम्बर (हि.स.)। हिप-हप सङ्गीतको क्षेत्रमा 'यूएनबी' को नामले परिचित सिक्किमका एक प्रसिद्ध युवा गायक उगेन नामग्याल भोटियामाथि हालैमा अरुणाचल प्रदेशमा भएको कुटपीटको घटनालाई लिएर उनका समर्थकहरू आक्रोशित छन्। समर्थकहरूले यूएनबीलाई न्याय दिनुपर्ने र दोषीहरू विरुद्ध कडा कानूनी कारबाहीको माग गरेका छन्।

राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा यूएनबीका समर्थक सुरज सेवा, मनिस रसाइली र इत्तेफाक उश्मानी यस्तो माग गरेका हुन्। ऱ्याप गायक सुरज सेवाले हालै अरुणाचल प्रदेशमा सिक्किमका यूएनबीमाथि घातक हमला भएको बताए। यूएनबी सिक्किमका एक वरिष्ठ कलाकार रहेको र उनले सिक्किमलाई राष्ट्रिय र अन्तरराष्ट्रिय मञ्चहरूमा प्रतिनिधित्व गरिसकेको बताउॅंदै उनीमाथि हमला गम्भीर चिन्ताको विषय रहेको बताए।

उनले यस विषयलाई संज्ञानमा लिएर उचित कारबाहीको निम्ति आवश्यक पहल गरिदिएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार प्रकट गरे। उनले यस घटनालाई लिएर अरुणाचल प्रदेश प्रशासनले देखाएको तत्परताको पनि सराहना गरे। उनले राज्यका कलाकारहरू बाहिर जॉंदा धेरै यस्ता समस्याहरू झेल्नु पर्ने हुन्छ भन्दै यी विषयहरूमाथि पनि सरकारको ध्यान केन्द्रित होस् भनी बताए।

यसरी नै मनिस रसाइलीले यूएनबीमाथि हमला गम्भीर विषय रहेको बताउॅंदै उनीमाथि भविष्यमा पनि यस्तै आक्रमण हुन सक्ने आशंका व्यक्त गरे। उनले दोषी विरुद्ध कडा कानूनी कारबाही होस् भन्दै राज्यका सबै हिप-हप कलाकारहरूलाई अगाडि आउन आह्वान गरे। उनले अरुणाचल प्रदेशका एक-दुई जनाले गर्दा राज्यकै नाम बद्नाम भइरहेको बताए।

उल्लेखनीय छ, सिक्किमका चर्चित हिप-हप कलाकार यूएनबीमाथि हालै अरुणाचल प्रदेशमाथि घतक हमला भएको छ। उनी अरुणाचल प्रदेशमा आफ्नो सांगीतिक प्रस्तुतिको निम्ति गएका थिए। यस घटनालाई संज्ञानमा लिॅंदै मुख्यमन्त्री प्रेमसिंह तामाङले अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुसॅंग टेलीफोनमा चर्चा गर्दै उचित कारबाहीको निम्ति अनुरोध गरेका थिए। यस घटनालाई लिएर अरुणाचल प्रदेश सरकारले सक्रियरूपमा कारबाही गरिरहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande