दार्जिलिङमा नयाँ पोलिटेक्निक संस्थान् स्थापना गर्ने निर्णय
सांसद राजु बिष्ट र मुख्यमन्त्री शुभेन्दु अधिकारी


दार्जिलिङ, २९ सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टीका दार्जिलिङका सांसद राजु विष्टले पश्चिम बंगाल सरकारले प्राविधिक शिक्षाको पहुँच नभएका महकुमामा नयाँ पोलिटेक्निक संस्थान् स्थापना गर्ने निर्णय गरेको बताएका छन्। उनले दार्जिलिङ, धुपगुडी, दिनहाटा, मेखलिगञ्ज लगायत अन्य महकुमाहरूमा नयाँ पोलिटेक्निक संस्थान् स्थापना गरिने जानकारी गराएका छन्।

सांसद विष्टले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा दशकौंदेखि यी क्षेत्रका विद्यार्थी प्राविधिक तथा सीपमूलक शिक्षा हासिल गर्न लामो दूरीको यात्रा गर्न बाध्य हुँदै आएको उल्लेख गरेका छन्। धेरै परिवारका लागि यात्राको खर्च तथा अन्य व्यवस्थापनका कारण उच्च तथा प्राविधिक शिक्षा हासिल गर्न कठिनाइ हुँदै आएको उनको भनाइ छ।

उनले नयाँ पोलिटेक्निक संस्थानको स्थापनाले विद्यार्थीलाई गुणस्तरीय प्राविधिक शिक्षा घरनजिकै उपलब्ध गराउनुका साथै सीप विकास, रोजगारी तथा उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने बताएका छन्। उनले उत्तर बंगालका विभिन्न क्षेत्रमा राष्ट्रिय महत्वका संस्थान् तथा उच्चस्तरीय शिक्षण संस्थान् स्थापना गर्न पनि पहल भइरहेको जानकारी दिएका छन्।

सांसद विष्टले पश्चिम बंगालको शिक्षा क्षेत्रमा विगतदेखि नै अपर्याप्त पूर्वाधार, शिक्षक तथा कर्मचारी नियुक्तिमा ढिलाई र विद्यार्थीका लागि पर्याप्त अवसरको अभावलगायतका चुनौती रहेको दाबी गरेका छन्। उनले यी समस्या वाममोर्चा नेतृत्वको सीपीआई(एम) तथा तृणमूल कांग्रेस (टीएमसी) को शासनकालमा रहेको आरोप लगाएका छन्।

उनका अनुसार, वर्तमान सरकारले गुणस्तर, पहुँच, पारदर्शिता र परिणाममा केन्द्रित भएर शिक्षा प्रणालीलाई पुनर्निर्माण तथा सुदृढ गर्ने काम गरिरहेको छ। प्राविधिक तथा उच्च शिक्षण संस्थाको विस्तार पनि यही प्रक्रियाको महत्वपूर्ण हिस्सा रहेको उनले बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीप्रति आभार व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande