
गान्तोक, २९ सेप्टेम्बर (हि.स.)। ‘म्याराथन म्यान अफ सिक्किम’ को नामले परिचित सिक्किमका चर्चित लामो दूरीका धावक अमर सुब्बालाई सिक्किम सरकारको खेल तथा युवा मामिला विभाग, गेजिङ जिल्लाले सम्मान गरेको छ।
गेजिङ जिल्ला खेलकुद तथा युवा मामिला विभागले सरकारी वरिष्ठ माध्यमिक विद्यालय, पेलिङको खेल मैदानमा आयोजित जिल्ला विद्यालय खेलकुद प्रतियोगिताका क्रममा अमर सुब्बालाई औपचारिक रूपमा सम्मान गरेको हो। उनलाई अल्ट्रा ट्रेल दौड तथा अल्ट्रा म्याराथनमा हासिल गरेका उल्लेखनीय उपलब्धि र खेलकुद क्षेत्रमा लामो समयदेखि गरेको योगदानका लागि सम्मान गरिएको हो।
अमर सुब्बाले विगत १५ वर्षदेखि सिक्किममा लामो दूरीको दौड, ट्रेल दौड, च्यारिटी रन तथा जनचेतनामूलक दौडको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएका छन्।
गेजिङ जिल्ला खेलकुद तथा युवा मामिला विभागले युवालाई सही मार्गतर्फ अघि बढाउन मार्गदर्शन तथा प्रेरणा प्रदान गर्ने मञ्चका रूपमा म्याराथन आयोजना गर्दै आएको योगदानलाई ध्यानमा राख्दै अमर सुब्बालाई सम्मानका लागि सिफारिस गरेको जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल