
गान्तोक, 03 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण राज्यवासीहरू र आत्मीय जनमा हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, 'जन्माष्टमीको पावन पर्वले हामीलाई भगवान श्रीकृष्टको जीवनसॅंग सम्बन्धित दिव्य शिक्षाहरूको स्मरण गराउॅंछ, जसले हामीलाई सदैव अधर्ममाथि धर्म र असत्यमाथि सत्यको शाश्वत विजयको मार्ग देखाउॅंछ। श्रीमद्भगवद्गीताको माध्यमद्वारा दिइएको दिव्य उपदेश आजको युगमा पनि अत्यन्त प्रासंगिक छ। निष्काम कर्म र लोक मंगलको दर्शनले हामीलाई नि:स्वार्थ भावले समाज र राष्ट्रको सेवा गर्न प्रेरित गर्दछ।'
राज्यपालले यस पावन अवसरमा भगवान श्रीकृष्णका आदर्शहरूलाई आफ्नो जीवनमा अपनाउन संकल्प लिन आह्वान गरेका छन्। उनले प्रदेशको गौरवशाली परम्परा अनुरूप आपसी भाइचारा, शान्ति, सौहार्द र सामाजिक एकजुटतालाई अझ सुदृढ़ बनाउन आह्वान गरेका छन्।
राज्यपालले योगेश्वर श्रीकृष्णको आशीर्वाद सिक्किमका प्रत्येक नागरिकको जीवनलाई सुख, समृद्धि, उत्तम स्वास्थ्य र असीम शान्तिले परिपूर्ण गरुन् भनी प्रार्थना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल