
गान्तोक, ०४ सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) को माउन्ट जोङ्सोङ आरोहण अभियान ‘शिखर’ को चौथो संस्करणलाई झण्डा देखाएर प्रस्थान गराएका छन्। उनले राजधानीमा आज आयोजित एक कार्यक्रमबीच अभियानमा सहभागी सम्पूर्ण सदस्यलाई सुरक्षित तथा सफल यात्राका लागि हार्दिक शुभकामना दिएका छन्।
मुख्यमन्त्री यस चुनौतीपूर्ण अभियानलाई साहस, सहनशीलता तथा व्यावसायिक उत्कृष्टताको उल्लेखनीय उदाहरणका रूपमा वर्णन गरे। उनले भने, “सिक्किमले सामना गरेका सबैभन्दा कठिन परिस्थितिमा एनडीआरएफ सधैँ राज्यका जनतासँग काँधमा काँध मिलाएर उभिएको छ। २०११ को विनाशकारी भूकम्पदेखि २०२३ को टिस्टा बाढी तथा राज्यका विभिन्न क्षेत्रमा भएका अन्य आपत्कालीन अवस्थासम्म एनडीआरएफले पुर्याएको योगदान उल्लेखनीय छ।”
मानव जीवन बचाउने कार्यमा एनडीआरएफले देखाएको साहस, व्यावसायिकता र अटल प्रतिबद्धताले सिक्किमवासीको गहिरो सम्मान र कृतज्ञता प्राप्त गरेको उनले बताए। मुख्यमन्त्रीले पाकिममा एनडीआरएफको एउटा कम्पनी स्थायी रूपमा तैनाथ गर्नु तथा पूर्ण रूपमा विकसित एनडीआरएफ केन्द्र निर्माण गर्नुले सिक्किमको आपदा व्यवस्थापन क्षमता र पूर्वतयारीलाई थप सुदृढ बनाएको बताएका छन्।
‘शिखर’ अभियानका सदस्यहरूलाई सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गर्दै मुख्यमन्त्री तामाङले संवेदनशील हिमालयी पर्यावरणको संरक्षण गर्न पनि अपील गरेका छन्। उनले भने, “पहाडहरू केवल जित्नका लागि होइनन्, तिनको सम्मान र अध्ययन पनि गर्नुपर्छ।”
मुख्यमन्त्री तामाङले सिक्किमका जनताको सुरक्षा र सुरक्षात्मक तयारीप्रति निरन्तर सहयोग तथा प्रतिबद्धताका लागि भारत सरकार, एनडीआरएफको नेतृत्व तथा सम्पूर्ण कर्मचारीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले ‘शिखर’ अभियानको सम्पूर्ण टोलीलाई पुनः शुभकामना दिँदै उनीहरूको यात्रा सुरक्षित, सफल तथा प्रेरणादायी रहोस् भन्ने कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल