तेल अवीव, १५ अक्टोबर (हि.स.)। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आज कठोर रुख अपनाउँदै चेतावनी दिएका छन् कि यदि हमासले निशस्त्रीकरण गर्न अस्वीकार गर्यो भने ठूलो विनाश मच्चिनेछ। उनको यो टिप्पणी त्यतिबेला आएको हो जब इजरायल र हमासबीच गाजामा युद्धविरामको पहिलो चरण लागू भइसकेको छ। इजरायली बन्धकहरूको रिहाइपछि फिलिस्तीनी कैदीहरूलाई पनि छोडिँदै छ। यसबीच हमासले चार बन्धकहरूको शव इजरायललाई बुझाएको छ।
द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार, प्रधानमन्त्री नेतन्याहूले सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा भनेका छन्, यदि हमास निशस्त्रीकरणमा सहमत हुँदैन भने विनाश निश्चित छ। जब उनलाई सोधियो कि इजरायली सेना अझै गाजाका केही भागमा तैनाथ छ र हमास फेरि त्यहाँ नियन्त्रण पुनःस्थापना गर्न खोज्दैछ, तब युद्ध सकिएको कसरी भन्न सकिन्छ? नेतन्याहूले जवाफ दिए, “हामीले शान्तिलाई एउटा मौका दिन सहमति जनाएका छौं।”
प्रधानमन्त्रीले भने, युद्धविराम सम्झौतामा यो प्रावधान गरिएको छ कि फिलिस्तीनी आतङ्ककारी समूहलाई निशस्त्र गरिनुपर्छ र गाजाको विसैन्यीकरण हुनुपर्छ। गाजाभित्र कुनै हतियार कारखाना चल्न नपाउने र यसको सीमाबाट तस्करी रोक्नुपर्ने व्यवस्था छ। उल्लेखनीय छ, अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चेतावनी दिएका छन्, यदि हमासले सम्झौताका आफ्ना दायित्वहरू पूरा गरेन भने उसलाई हिंसात्मक रूपमा निशस्त्र गरिनेछ।
प्रधानमन्त्री नेतन्याहूले भने, उनलाई इजरायल र हमासबीचको सम्झौताका आगामी चरणहरू शान्तिपूर्ण हुने अपेक्षा छ। उनका अनुसार, राष्ट्रपति ट्रम्पका सर्तहरू धेरै स्पष्ट छन्, हमासले आफ्ना हतियार त्याग्नुपर्छ र विसैन्यीकरण गर्नुपर्छ, नत्र सबै कुरा बिग्रनेछ। नेतन्याहूले थपे, “हामी शान्तिलाई एउटा मौका दिनेमा सहमत भएका छौं।” यही कुरा राष्ट्रपति ट्रम्पले पनि गाजाका लागि आफ्नो २०-सूत्रीय शान्ति योजनाको पहिलो चरणको अवसरमा तेल अवीवको छोटो भ्रमणपछि भनेका थिए।
यसबीच इजरायली स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ, चार मृत बन्धकहरूको अवशेष भएका बाकसहरू पहिचानका लागि तेल अवीवस्थित अबू कबीर फरेन्सिक संस्थानमा पुगेका छन्। पहिचान प्रक्रियामा दुई दिनसम्म समय लाग्न सक्ने बताइएको छ। हमासले बुझाइएका बन्धकहरूको पहिचान सार्वजनिक गरेको छैन।
द टाइम्स अफ इजरायलका अनुसार, हमासले मध्यस्थहरूलाई सूचित गरेको छ कि उसले बुधबार थप चार मृत बन्धकहरूको शव इजरायललाई बुझाउनेछ। यससँगै हमासले फिर्ता गरेका शवहरूको संख्या १२ पुग्नेछ। हमासले दाबी गरेको छ कि सबै शवसम्म पुग्न उसलाई समय लाग्नेछ, किनकि तीमध्ये केही इजरायली बमबारीमा ध्वस्त भवन र सुरुङहरूको भग्नावशेषभित्र छन्। केही शव त इजरायली सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा रहेको बताइएको छ। हमासले यस्ता शवहरूको संख्या १६ रहेको जनाएको छ।
इजरायलले हमासका यी दाबीहरूलाई टालटुल रणनीति भन्दै अस्वीकार गरेको छ र चेतावनी दिएको छ कि यदि बाँकी शवहरू तुरुन्त फिर्ता गरिएन भने उसले सहायता सीमित गर्नेछ, मिसरसँगको राफाह सीमा बन्द गरिनेछ र युद्ध पुनः सुरु गरिनेछ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि मंगलबार भने, हमासले शवहरूको बारेमा मध्यस्थहरूलाई भ्रममा पारेको छ।
--------------
हिन्दुस्थान समाचार / भवानी थामी