अफगानिस्तानले पाकिस्तानका रक्षामन्त्री र आईएसआई प्रमुखको भिसा आवेदन अस्वीकार गर्‍यो
Afganistan-pakistan-visa


काबुल, 14 अक्टोबर (हि.स.)।

अफगान सरकारले पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफ, इण्टर–सर्भिसेस इण्टेलिजेन्स (आईएसआई) प्रमुख लेफ्टिनेन्ट जनरल असीम मलिक, र अन्य दुई जना जनरलहरूको भिसा आवेदन खारेज गरेको छ। गत तीन दिनमा इस्लामाबादले तीन पटक छुट्टाछुट्टै अनुरोध पठाएको थियो, तर तीनैपटक काबुलले अस्वीकार गरेको हो।

द बलोचिस्तान पोस्ट (पश्तो भाषा) को सोमबारको रिपोर्ट अनुसार, अफगान विदेश मन्त्रालय वा तालिबान सरकारले यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन। यद्यपि, स्रोतहरूले भिसा आवेदन अस्वीकार गरिएको पुष्टि गरेका छन्। पछिल्ला महिनाहरूमा पाकिस्तान र अफगानिस्तानबीचको तनाव तीव्र भएको छ। इस्लामाबादले अफगानिस्तानमाथि तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) लाई आफ्नै भूमिमा गतिविधि गर्न दिनेको आरोप लगाएको छ।

तर, तालिबान सरकारले यी आरोपहरू अस्वीकार गरेको छ। हालै समाचार आएका थिए कि पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलसहित विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको थियो। त्यसको जवाफमा अफगान सेनाले सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाविरुद्ध प्रतिकारात्मक कारबाही गरेको थियो, जसमा पाकिस्तानी सेनालाई धेरै क्षति पुगेको बताइएको छ।

यद्यपि त्यसपछि अफगान सेनाले युद्धविराम घोषणा गरेको थियो। भारतमा अफगान सरकारका विदेश मन्त्रीले पुष्टि गरेका छन् कि यो निर्णय साउदी अरब, कतार र संयुक्त अरब इमिरातको अनुरोधमा गरिएको हो।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ यसअघि पनि अफगान नेतृत्त्वसँग भेटघाट गरिसकेका छन्। पछिल्ला घटनाक्रमपछि उनी तालिबान सरकारका वरिष्ठ प्रतिनिधिहरूसँग सुरक्षा विषयमा छलफल गर्न काबुल जान चाहन्थे, तर अफगान सरकारले भिसा नदिँदा कूटनीतिक तनाव झनै प्रष्ट भएको छ।

राजनीतिक विश्लेषकहरूको भनाइमा, उच्चस्तरीय पाकिस्तानी प्रतिनिधिमण्डलको भिसा अस्वीकार गर्नु असामान्य कदम हो। यसले देखाउँछ कि तालिबान सरकार अब इस्लामाबादको दबाबमा झुक्न तयार छैन।

-------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande