काठमाडौं, १५ अक्टोबर (हि.स.)। नेपालको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सक्रिय राजनीतिबाट सन्यास लिँदै उपचारका लागि सिंगापुर जाने तयारी गरेका छन्। पार्टीको केन्द्रिय समिति बैठकमा उनले लिखित वक्तव्य पढ्दै यसबारे जानकारी दिएका हुन्।
‘जेन जी विद्रोह’ को क्रममा गम्भीर घाइते भएका देउवा ३५ दिनपछि मंगलबार पहिलोपटक पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी भएका थिए। बैठकमा उनले पार्टीको जिम्मेवारी उपाध्यक्ष पूर्णबहादुर खड्कालाई कार्यकारी अध्यक्षको रूपमा सुम्पने निर्णय गरेका छन्।
देउवाले भने, “अब पार्टीको कार्यकारी जिम्मेवारी खड्का जीलाई सुम्पिएको छ। निर्धारित समयमा महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न सबै तयार रहनु पर्नेछ।” उनले महाधिवेशनपछि निर्वाचित नयाँ अध्यक्षलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने पनि स्पष्ट पारे।
देउवाले राजनीतिबाट अब सक्रिय रूपमा टाढा रहने संकेत दिँदै भने, “अब म उपचारका लागि सिंगापुर जाने तयारीमा छु। अहिले लामो समय बस्दा पनि टाउको घुम्ने र बेहोस हुने समस्या भइरहेकाले उपचार आवश्यक भएको छ।”
‘जेन जी विद्रोह’ का बेला प्रदर्शनकारीहरूले देउवाको निवासमा पसेर देउवा र उनकी पत्नी आरजु देउवामाथि आक्रमण गरेका थिए। उनीहरूलाई खुकुरी प्रहारसमेत भएको थियो, जसमा देउवाको निधारमा १२ टाँका र आरजु देउवाको घाँटीमा ८ टाँका लागेका थिए। प्रदर्शनकारीहरूले उनको सम्पूर्ण घरमा आगजनी गरेका थिए।
सो घटनापछि पहिलोपटक सार्वजनिक भएका देउवा दम्पतीले उपचारका लागि सिंगापुर जाने बताएका छन्। तर, सरकारद्वारा उनीहरूको राजनयिक पासपोर्ट रद्द गरिएको छ र काठमाडौं बाहिर जानसमेत रोक लगाइएको बताइएको छ।
--------------
हिन्दुस्थान समाचार / भवानी थामी