तिनसुकिया, १६ अक्टोबर (हि.स.)। असमको तिनसुकिया जिल्लाको काकोपाथार क्षेत्रमा बिहिबार राति भएको भीषण आक्रमणले सम्पूर्ण इलाकामा त्रास फैलिएको छ। अज्ञात आक्रमणकर्ताहरूले सैनिक शिविरमा ग्रेनेड प्रहार गर्दै अन्धाधुन्ध गोलीबारी गरेका थिए।
सूत्रहरूको अनुसार, आक्रमण राति करिब १२:३० बजे भएको थियो, जब सेनाको शिविरतर्फ तीन वटा अन्डर ब्यारेन ग्रेनेड लञ्चर (यूजीजीएल) प्रहार गरिएको थियो। त्यसपछि करिब आधा घण्टासम्म निरन्तर गोलीबारीको आवाज गुञ्जिरहेको थियो। तीव्र विस्फोट र गोलाको आवाजले वरपरका बासिन्दामाझ भगदड मच्चिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार, आक्रमणकर्ताहरू एउटा ट्रकमा आएका थिए र हमला गरी फरार भएका थिए।
प्राप्त जानकारीअनुसार, उक्त आक्रमणमा तीन जना सैनिक घाइते भएका छन्। यद्यपि शिविरमा भएको क्षतिको आधिकारिक पुष्टि भने अहिलेसम्म गरिएको छैन। घटनापछि सुरक्षाबलले सम्पूर्ण क्षेत्र घेराबन्दी गरी काकोपाथार र वरपरका क्षेत्रमा व्यापक खोजी अभियान सुरु गरेका छन्। हाल सर्वसाधारणको आवतजावतमा पनि रोक लगाइएको छ।
प्रारम्भिक अनुसन्धानमा यस आक्रमणमा प्रतिबन्धित उग्रवादी संगठन उल्फा (इन्डिपेन्डेन्ट) को संलग्नता भएको आशंका गरिएको छ। यो हमला पछिल्ला केही महिनामा माथिल्लो असममा भएको सबैभन्दा ठूलो उग्रवादी हमला मानिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी