गुजरातबाट औद्योगिक नुन लिएर पहिलो मालगाडी कश्मीर पुग्यो
गुजरातबाट औद्योगिक नुन लिएर पहिलो मालगाडी कश्मीर पुग्यो


नयाँ दिल्ली, १८ अक्टोबर (हि.स.)। उत्तर रेलवेको जम्मू मण्डलले मालसामान ढुवानी क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको छ। गुजरातको खाराघोडा गुड्स सेडबाट १,३५० टन औद्योगिक नुन बोकेको पहिलो रेल खेप शुक्रबार जम्मु–कश्मीरको अनन्तनाग गुड्स सेडमा सफलतापूर्वक पुगेको छ। २१ बीसीएन डब्बामा आएको यो खेपसँगै कश्मीर उपत्यकामा औद्योगिक नुनको रेलमार्गद्वारा ढुवानी सुरु भएको छ।

रेल अधिकारीहरूका अनुसार, यो नुन ट्यानिङ उद्योग, साबुन उत्पादन र इँटा भट्टामा प्रयोग गरिनेछ। यो पहलले भरपर्दो र किफायती रेल यातायातमार्फत उपत्यकालाई देशका अन्य भागहरूसँग जोड्ने दिशामा नयाँ उपलब्धी हासिल गरेको छ।

रेलमार्गबाट औद्योगिक नुन आपूर्ति सुरु भएपछि उपत्यकामा आवश्यक वस्तुको निरन्तर उपलब्धता सुनिश्चित हुनेछ, ढुवानी लागत र समय दुवै घट्नेछन्, साथै सडकमार्गमा निर्भरता पनि कम हुनेछ। विशेष गरी प्रतिकूल मौसमका समयमा जब सडक सम्पर्क अवरुद्ध हुन्छ, यो प्रणाली अत्यन्त उपयोगी सावित हुनेछ।

जम्मू मण्डलका वरिष्ठ मण्डल वाणिज्य प्रबन्धक उचित सिङ्घलका अनुसार, यो खेपको आगमनले भविष्यमा यस्ता थप मालसामान ढुवानीलाई प्रोत्साहन दिनेछ, जसले गुजरात र जम्मु–कश्मीरबीच व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउनेछ।

उल्लेखनीय छ, पछिल्ला महिनाहरूमा कश्मीर उपत्यकामा रेलवे ढुवानी क्षेत्रमा तीव्र प्रगति भएको छ। हालै उपत्यकाबाट स्याउको पहिलो खेप रेलमार्गबाट दिल्ली र अन्य राज्यहरूमा पठाइएको थियो। त्यस्तै मारुति गाडीहरू लगायतका औद्योगिक सामान पनि रेलमार्गबाट उपत्यकामा पुर्‍याइएका छन्।

भारतीय रेलवेका यी पहलहरूले केन्द्रशासित प्रदेश जम्मु–कश्मीरको लजिस्टिक सञ्जाललाई सुदृढ बनाउने दिशामा ठूलो कदम चालेका छन्, जसबाट क्षेत्रका व्यापार, उद्योग र सर्वसाधारण सबैले समान रूपमा लाभ पाउनेछन्।

--------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande