ढाका अन्तरराष्ट्रिय विमानस्थलमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा, अबेर रातिदेखि उडान सञ्चालन पुनः सुरु
Dhaka airport


ढाका, १९ अक्टोबर (हि.स.)। हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थल (एचएसआईए) को कार्गो भिलेजमा शनिबार दिउँसो लागेको भीषण आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। अबेर रातिदेखि विमानस्थलबाट उडान सञ्चालन पुनः सुरु गरिएको छ। आगलागीको कारण पत्ता लगाउनका लागि जाँच सुरु गरिएको छ।

ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलको कार्गो भिलेज क्षेत्रमा शनिबार दिउँसो करिब सवा दुई बजे भीषण आगो लागेको थियो। आगो यति छिटो फैलियो कि सबै उडानहरू तुरुन्तै रोक्नुपर्‍यो। आकाशमा उठेको कालो धुवाँ वरपरका क्षेत्रहरूमा फैलियो।

यस क्रममा एचएसआईएको उडान सञ्चालन रोकिएको थियो। सतर्कता अपनाउँदै धेरै घरेलु विमानहरूलाई ढाकामा अवतरण गराउने सट्टा चटगाँव पठाइयो। आगो नियन्त्रणका लागि अग्निशमन सेवा र विमानस्थल प्राधिकरणको तत्काल र संयुक्त प्रयासपछि लगभग ७ घण्टापछि आगो नियन्त्रणमा आएको हो।

माध्यम समूह ‘प्रोथोम आलो’ ले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ, एचएसआईएको कार्गो भिलेजमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र राति ९:३० बजेबाट उडान सञ्चालन पुनः सुरु भयो।

मन्त्रालयका अनुसार, दिउँसो करिब २:१५ बजे लागेको आगो अग्निशमन सेवा र विमानस्थल प्राधिकरणको तत्काल र समन्वित प्रयासपछि नियन्त्रणमा आएको हो र यस घटनामा कसैको मृत्यु वा घाइते हुने घटना भएको छैन। आगलागीको कारण पत्ता लगाउनका लागि आधिकारिक जाँच सुरु गरिएको छ। मन्त्रालयले भनेको छ, आगलागीको कारण पत्ता लगाएर यस्तो घटना पुनः नदोहोरियोस् भनी आवश्यक कदम चालिनेछ।

--------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande