पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा आठ क्रिकेट खेलाडी सहित धेरैको मृत्यु
पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा आठ क्रिकेट खेलाडी सहित धेरैको मृत्यु


काबुल, 18 अक्टोबर (हि.स.)। पाकिस्तानले अफगानिस्तानका विभिन्न भागमा गए राति हवाई हमला गरेको छ। पक्तिका प्रान्तका आर्गन र बिरमल जिल्लामा भएका ताजा आक्रमणमा आठ अफगान क्रिकेट खेलाडी सहित कैयौं मानिसको मृत्यु भएको छ। दोहा शान्ति वार्ताका क्रममा अस्थायी युद्धविराम विस्तारबारे छलफल चलिरहेको बेला भएका यी आक्रमणहरूले सीमावर्ती क्षेत्रमा तनाउ बढाएको छ।

द बलोचिस्तान पोस्ट (पश्तो भाषा) का अनुसार, पाकिस्तानी सेनाले आर्गन र बरमाल जिल्लाका धेरै इलाकालाई निशाना बनाएको हो। मारिएका र घाइतेहरूमा महिला र बालबालिका समेत छन्। हवाई आक्रमणमा आठ क्रिकेट खेलाडीको ज्यान गएको बताइएको छ। अफगान क्रिकेट बोर्डका स्रोतका अनुसार, ती खेलाडीहरू प्रान्तीय केन्द्रबाट आफ्ना जिल्लातर्फ फर्किरहेका बेला लक्षित बनेका थिए। अफगान मिडियाका अनुसार, अधिकांश आक्रमण आवासीय क्षेत्रमा भएका हुन्। मृतक र घाइतेहरूको विस्तृत विवरण अझ आउन बाँकी छ।

तुलूअ न्यूज का अनुसार, पाकिस्तानले काबुलमा गरेको हवाई आक्रमणमा दर्जनौं घर र विद्यालयहरू ध्वस्त भएका छन्। तीमध्ये एक घरमा ५० वर्षीय अब्दुल रहीम आफ्नो परिवारका छ सदस्यसहित बस्दै आएका थिए। सौभाग्यवश, आक्रमणको समयमा परिवार घरमा थिएन। अब्दुल रहीमले भने, उनी अहिले पनि हमलाबाट आतंकित छन्। अर्को प्रभावित बासिन्दा हबीबुल्लाहका अनुसार, उनको घरमा रकेटले हमला गरिएको हो। घरसँगै रहेको विद्यालयमा पनि बमबारी गरिएको थियो, जहाँ ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत थिए।

तुलूअ न्यूजको शुक्रबारको अर्को प्रतिवेदन अनुसार, पछिल्ला ४८ घण्टामा पाकिस्तानका आक्रमणबाट कम्तीमा ४० जनाको मृत्यु र १७० जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूले भनेका छन्, यी आक्रमणहरूमा सिधै नागरिक घरहरूलाई लक्षित गरिएको थियो, जसले ठूलो जनधनको क्षति पुर्‍याएको छ। स्पिन बोल्डकका जनस्वास्थ्य प्रमुख करिमुल्लाह जुबैरा आगाका अनुसार, नागरिक हताहतीको संख्या निकै उच्च छ।

आक्रमणबाट बाँच्न सफल स्थानीयहरूले दाबी गरेका छन्, पाकिस्तानले युद्धका नियमहरूको उल्लङ्घन गर्दै जानाजानी नागरिक पूर्वाधार र साधारण जनतालाई लक्ष्य बनाएको हो। हवाई आक्रमणसँगै पाकिस्तानी तोपखानाबाट गरिएका गोला–बारुदका प्रहारले नोकली, हाजी हसन केले, वर्दक, कुचियन, शोराबक र शहीद क्षेत्रमा पनि घरहरूमा ठूलो क्षति पुर्‍याएको छ।

-------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande