दोहा, १९ अक्टोबर (हि.स.)। कतारको राजधानी दोहामा पाकिस्तान र अफगानिस्तानबीच सम्पन्न एक उच्चस्तरीय वार्तामा तत्काल प्रभावले युद्धविराम लागू गर्ने सहमति भएको छ। युद्धविरामको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशका प्रतिनिधिहरू आगामी चरणमा दोहा र इस्लामाबादमा फेरि बैठक गर्नेछन्। दुवै देशबीच सीमामा गत पन्ध्र दिनदेखि जारी द्वन्द्व लगातार गम्भीर बन्दै गएको थियो, जसमा दुवै पक्षका सैनिकहरूसँगै आम नागरिकहरू पनि मारिएका थिए।
कतारको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जारी गरेको विज्ञप्ति अनुसार, कतार र टर्कीको मध्यस्थतामा दोहामा भएको उच्चस्तरीय वार्तामा पाकिस्तान र अफगानिस्तान तत्काल युद्धविराममा सहमत भएका छन्। कतारले आशा व्यक्त गरेको छ कि यो समझदारीले पाकिस्तान–अफगानिस्तान सीमामा बढ्दो तनाउलाई कम गरी क्षेत्रीय स्थायित्व कायम गर्न मद्दत गर्नेछ।
दोहामा सम्पन्न वार्तामा दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी भएका थिए। गल्फ न्युजका अनुसार, पाकिस्तानतर्फबाट रक्षा मन्त्री ख्वाजा मुहम्मद आसिफ र गुप्तचर प्रमुख जनरल असीम मलिक उपस्थित थिए। अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार, रक्षा मन्त्री मुल्ला मुहम्मद याकूबको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल वार्तामा सहभागी भएको थियो, जसमा गुप्तचर प्रमुख अब्दुल हक वकीक पनि समावेश थिए।
वार्तापूर्व पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भन्यो, यो संवाद अफगानिस्तानबाट हुने सीमा पार आतङ्कवाद अन्त्य गर्ने र सीमामा शान्ति तथा स्थायित्व कायम गर्ने उपायहरूमा केन्द्रित हुनेछ। विज्ञप्तिमा कतारको मध्यस्थता पहलको प्रशंसा गर्दै यी वार्ताहरूले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्न सहयोग पुर्याउने आशा व्यक्त गरिएको छ।
दुवै देशबीच करिब पन्ध्र दिनदेखि जारी द्वन्द्व अझ गम्भीर बनेको थियो, जब युद्धविरामको अवधिमा भएको एक हवाई आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भयो। अफगानिस्तान सरकारको दाबी अनुसार, पाकिस्तानले युद्धविरामको उल्लङ्घन गर्दै सर्वसाधारण नागरिकहरूलाई निशाना बनाएको थियो। जबकि पाकिस्तानले आरोप लगाउँदै उसले अफगानिस्तानका सीमावर्ती क्षेत्रमा सक्रिय आतङ्कवादी शिविरहरूलाई लक्ष्य बनाएको बताएको छ।
--------------
हिन्दुस्थान समाचार / भवानी थामी