156औं गॉंधी जयन्ती पालन, राज्यपाल र मुख्यमन्त्रीले राष्ट्रपितालाई दिए श्रद्धाञ्जली
156औं गॉंधी जयन्ती पालन


गान्तोक, 02 अक्टोबर (हि.स.)। 156औं गॉंधी जयन्तीको अवसरमा आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले राजधानीको एमजी मार्गमा अवस्थित राष्ट्रपिता महात्मा गॉंधीको मूर्तिमा श्रद्धाञ्जली अर्पित गरे। यस अवसरमा सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा, क्याबिनेट मन्त्रीगण, विधायकगण, राजनीतिक सचिव, सल्लाहकारगण, अध्यक्षगण, गान्तोकका मेयर र उपमेयर, विभिन्न विभागका प्रमुखहरू, अधिकारीहरू आदि उपस्थित थिए। कार्यक्रम गणमान्य व्यक्तिहरूद्वारा राष्ट्रपिताप्रति खदा-माला अर्पण गरेर श्रद्धाञ्जली अर्पित गरियो।

यस अवसरमा स्वच्छता पुरस्कार र इन्गेज 2025 पहल अन्तर्गत विद्यार्थीहरू, संघ संस्थाहरू, स्वयं सहायता समूहहरू, सफाईकर्मीहरू र स्थानीय निकायहरूलाई फोहोर प्रबन्धन, साफ सफाई र सामुदायिक सेवामा उल्लेखनीय सेवा पुऱ्याएवापत अतिथिहरूको बाहुलीद्वारा पुरस्कृत गरियो। इन्गेज 2025 पहल अन्तर्गत अन्तर विद्यालय, अन्तर महाविद्यालय फोहोर प्रबन्धन घरपरिवार सर्वेक्षण प्रतियोगिता र अन्तर महाविद्यालय भिडियो बनाउने प्रतियोगिताका विजेताहरूलाई पुरस्कृति गरियो।

यसैगरी, स्वच्छता पुरस्कार अन्तर्गत सातवटा शहरी स्थानीय निकायका 10 जना उत्कृष्ट प्रदर्शन गर्ने सफाई कर्मचारीहरूलाई 10-10 हजार र प्रमाणपत्रद्वारा सम्मानित गरियो। यसरी नै स्वच्छता शहर अभियान अन्तर्गत देवरालीको संस्कार एसएचजीलाई सर्वश्रेष्ठ प्रदर्शन गर्ने एसएचजीको पुरस्कार स्वरूप 50 हजार नगद र प्रमाणपत्र प्रदान गरियो। गान्तोक नगर निगममा सफा वार्डको पुरस्कार चान्दमारी वार्ड र लोवर एमजी मार्ग वार्डलाई प्रदान गरियो। पुरस्कार स्वरूप 50-50 हजार रूपियॉं र प्रमाणपत्र प्रदान गरियो।

सिक्किमका सबैभन्दा सफा शहरी स्थानीय निकायको पुरस्कार रम्फू नगर पञ्चायतले जित्न सफल बन्यो। पुरस्कारको रूपमा विजेता निकायलाई 8 लाख रूपियॉं र प्रमाणपत्र प्रदान गरिएको छ। यसैगरी, सिङताम नगर पञ्चायत र जोरथाङ नगर पञ्चायत क्रमश: दोस्रो र तेस्रो बन्यो। पुरस्कारमा क्रमश: 6 लाख रूपियॉं र प्रमाणपत्र तथा 4 लाख रूपियॉं र प्रमाणपत्र प्रदान गरियो। यसरी नै मङ्गन नगर पञ्चायतलाई मेन्टर सिटी अवार्ड प्रदान गरियो, जसमा 5 लाख रूपियॉं र प्रमाणपत्र सामेल थियो।

यसै क्रममा सबैभन्दा सफा ग्राम पञ्चायत एकाई अवार्ड 2025 अन्तर्गत प्रथम पुरस्कार गेजिङ जिल्लाको गेरेथाङ लबिङ जीपीयू, दोस्रो पुरस्कार पाकिम जिल्लाको लिङताम पदमचेन जीपीयू तथा तेस्रो पुरस्कार नाम्ची जिल्लाको पोकलोक जीपीयू र गान्तोक जिल्लाको रोङ्गे ताथाङ्चेन जीपीयूलाई संयुक्त रूपमा प्रदान गरिएको छ। पुरस्कार स्वरूप विजेताहरूलाई क्रमश: 5 लाख, 3 लाख र 1 लाख रूपियॉं प्रदान गरियो।

यस अतिरिक्त, चार जनालाई स्वच्छता मित्र पुरस्कार 2025 प्रदान गरियो, जसमा कृष्ण तामाङ, नाहाङ सुब्बा, अर्जुन राई र निमदोर्जी भोटिया सामेल छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande