कोलकाता, ३ अक्टोबर (हि.स.)। गहिरो वायु दबाव कमजोर भई न्यून दबावमा परिणत भए पनि पश्चिम बंगालका धेरै जिल्लामा भारीदेखि अति भारी वर्षा हुने सम्भावना कायम छ। भारतीय मौसम विभागले शुक्रबार चेतावनी जारी गर्दै राज्यका विभिन्न भागहरूमा ६ अक्टोबरसम्म वर्षाको प्रभाव देखिन सक्ने जनाएको छ।
मौसम विज्ञहरूका अनुसार, यस्तो स्थिति प्रायः चक्रवात आउनुभन्दा पहिले देखिने अवस्था हो। यस अवधिमा सामान्यतया तीव्र वर्षा र तीब्र हावाहुरी चल्ने गर्छ।
पूर्वानुमान अनुसार, दार्जिलिङ, कालिम्पोङ, अलीपुरद्वार, जलपाइगुडी र कूचबिहार जस्ता उप–हिमालयन जिल्लाहरूमा ५ अक्टोबरसम्म ७ देखि २० सेन्टिमिटरसम्मको भारीदेखि अति भारी वर्षा हुन सक्छ। त्यस्तै, दक्षिण बंगालका बीरभूम, पूर्व र पश्चिम मेदिनीपुर, झारग्राम, पुरुलिया, दक्षिण २४ परगना, मुर्शिदाबाद, पूर्व र पश्चिम बर्दवान तथा बाँकुडा जिल्लाहरूमा ७ देखि ११ सेन्टिमिटरसम्म वर्षा हुने अनुमान गरिएको छ।
समुद्र तटवर्ती क्षेत्रमा समेत चेतावनी जारी गरिएको छ। मौसम विभागले माछा मार्नेलाई उत्तर र मध्य बंगालको खाडी तथा बंगाल–ओडिशा तटसँग जोडिएका समुद्री क्षेत्रमा शनिबार बिहानसम्म नजान आग्रह गरेको छ।
गत २४ घण्टामा राज्यका धेरै भागमा हल्कादेखि मध्यम वर्षा भएको छ। यस अवधिमा दक्षिण २४ परगना जिल्लाको डायमन्ड हार्बरमा सबैभन्दा धेरै ४३.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। राजधानी कोलकाता र साल्ट लेक क्षेत्रमा क्रमशः २६.७ मिलिमिटर र २६.६ मिलिमिटर वर्षा भएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल