कोलकाता, ३ अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रबार दामोदर भ्याली कर्पोरेशन (डीभीसी) माथि गम्भीर आरोप लगाउँदै भनिन्, संस्थाले राज्य सरकारलाई पूर्व जानकारी नदिई ६५ हजार क्युसिक पानी छोडेर विजयादशमीकै दिन दक्षिण बंगालका जिल्लामा ‘जानीजानी’ बाढी जस्तो स्थिति बनायो।
मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिँदै डीभीसीको कदमलाई “लापरवाह” र “लाजमर्दो” ठहर दिइन्। उनले भनिन्, “विजयादशमीको दिन खुशी र नयाँ आशाको दिन हो, तर डीभीसीले कुनै सूचना नदिई भारी मात्रामा पानी छोड्यो। यो कदम पवित्र पर्वको दिन बंगालवासीलाई पीडा दिन खोजिएको साजिस जस्तै हो।”
ब्यानर्जीले थपिन्, “यो प्राकृतिक प्रकोप होइन, डीभीसीद्वारा रचिएको प्रकोप हो।” उनले चेतावनी दिँदै भनिन्, “म स्पष्ट भन्न चाहन्छु कि बंगाललाई कसैले डुबाउन सक्दैन। हाम्रो जनताविरुद्ध गरिने हरेक साजिसको डटेर प्रतिवाद हुनेछ। सत्यले झूटमाथि विजय पाउनेछ र नराम्रोमाथि राम्रोको जित हुनेछ। जय माँ दुर्गा!”
राज्य सरकारका अधिकारीहरूका अनुसार, मैथन र पञ्चेत जलाशयबाट छोडिएको पानी दुर्गापुर ब्यारेज हुँदै तलका क्षेत्रमा पुगेपछि बाँकुडा, पूर्व बर्दवान, हावडा र हुगली जिल्लामा बाढीको जोखिम बढेको छ। जिल्ला प्रशासनलाई सतर्क रहन र संवेदनशील नदी किनाराका क्षेत्रहरूको निगरानी गर्न निर्देशन दिइएको छ।
केन्द्र सरकारअन्तर्गतको निकाय डीभीसीले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, अघिल्ला घटनामा उसले पानी छोड्ने निर्णयलाई प्राविधिक आवश्यकता र बाँधको सुरक्षासँग जोडेको थियो।
ममता ब्यानर्जी लामो समयदेखि डीभीसीमाथि जल व्यवस्थापनमा लापरवाही, नदीलाई समयमा ड्रेजिङ नगर्ने र राज्य सरकारसँग समन्वयको अभाव राख्ने आरोप लगाउँदै आएकी छिन्।
उल्लेखनीय छ, सन् १९४८ मा स्थापना भएको डीभीसी पश्चिम बंगाल र झारखण्डमा फैलिएको २४ हजार २३५ वर्ग किलोमिटर क्षेत्रमा काम गर्ने एकीकृत विद्युत उत्पादन संस्था हो।
--------------
हिन्दुस्थान समाचार / बिशाल