नई दिल्ली, ५ अक्टोबर (हि.स.)। भारतका रक्षा मन्त्री राजनाथ सिंह आगामी हप्ता ७ देखि १० अक्टोबरसम्म अष्ट्रेलियाको भ्रमणमा रहँने भएका छन्। यो करिब १२ वर्षपछि भारतीय रक्षा मन्त्रीको पहिलो अष्ट्रेलिया यात्रा हुनेछ। यसअघि सन् २०१३ मा तत्कालीन रक्षा मन्त्री ए.के. एन्टनी अष्ट्रेलिया भ्रमणमा गएका थिए।
राजनाथ सिंहको यो भ्रमणको मुख्य उद्देश्य भारत–अष्ट्रेलियाबीचको रक्षा सम्बन्ध सुदृढ पार्नु र रणनीतिक साझेदारीलाई बलियो बनाउनु हो। दुवै देशबीच सन् २०२० मा व्यापक रणनीतिक साझेदारी स्थापित गरिएको थियो र २०२१ मा म्युचुअल लॉजिस्टिक सपोर्ट एग्रीमेन्टमा हस्ताक्षर गरिएको थियो। यसपछि दुवै देशबीच रक्षा सहयोगमा उल्लेखनीय विविधता आएको छ।
रक्षा मन्त्री सिंहको भ्रमण अघि, अष्ट्रेलियाका रक्षा मन्त्री तथा उपप्रधानमन्त्री रिचर्ड मार्लेस सन् २०२४ को जुन ४ मा भारत आएका थिए— यो पाकिस्तानविरुद्धको ‘अपरेशन सिंदूर’ पछि भारत आएका पहिलो विदेशी पाहुना थिए।
मार्लेसको भ्रमणका क्रममा भारत र अष्ट्रेलियाबीच रक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) र समुद्री क्षमताहरू सम्बन्धी प्रविधिमा सहकार्य विस्तार गर्न सहमति भएको थियो। भारतले अष्ट्रेलियालाई चीन र पाकिस्तानसँगको रक्षा सम्पर्कका विषयमा सावधानी अपनाउन सुझाव दिएको थियो। मार्लेसले त्यसपछि भनेका थिए कि अष्ट्रेलियाको पाकिस्तानसँगको रक्षा सम्बन्ध अत्यन्त सीमित छन्।
अष्ट्रेलिया भ्रमणका क्रममा दुवै पक्षबीच रक्षा सह-उत्पादन, एआई प्रविधि, र समुद्री क्षमताको क्षेत्रमा सहकार्यका नयाँ आयामहरू विस्तार गर्ने विषयमा छलफल हुनेछ। रिचर्ड मार्लेसले आफ्नो भारत भ्रमणको पहिलो दिन दिल्लीको मालचा मार्गमा गएर भारतीय परम्परागत ‘चिया संस्कृति’ अनुभव गरेका थिए। राजनाथ सिंहसँगको बैठकमा उनले भनेका थिए, “हामी तपाईको सरकार र प्रधानमन्त्री मोदीको नेतृत्वप्रति अत्यन्त आभारी छौं, जसले भारत–अष्ट्रेलिया सम्बन्धलाई नयाँ स्तरमा पुर्याएको छ। अहिले हामी बीचको रणनीतिक तालमेल इतिहासमै सबैभन्दा बलियो अवस्थामा छ, र हामी भारतलाई आफ्ना सबैभन्दा महत्वपूर्ण साझेदारहरूमध्ये एकका रूपमा हेर्छौं।”
यो भ्रमणबाट हिन्द–प्रशान्त क्षेत्रमा दुवै देशबीचको रक्षा सहकार्य र साझेदारीमा नयाँ गति आउने
अपेक्षा गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी