मध्य प्रदेशको छिन्दवाडामा ११ बालकको मृत्युपछि कफ सिरप लेख्ने चिकित्सक पक्राउ
मध्य प्रदेशको छिन्दवाडामा ११ बालकको मृत्युपछि कफ सिरप लेख्ने चिकित्सक पक्राउ


छिन्दवाडा/भोपाल, ५ अक्टोबर (हि.स.)। मध्य प्रदेशको छिन्दवाडा जिल्लाको परासिया क्षेत्रमा कफ सिरप पिएपछि ११ बालकको मृत्यु भएको घटनामा प्रशासनले कडा कारबाही गरेको छ। शनिबार राति परासिया पुलिस चौकीमा डाक्टर प्रवीण सोनी र तमिलनाडुको श्रेसन फार्मास्युटिकल कम्पनी (कांचीपुरम) विरुद्ध एफआईआर दर्ता गरिएको छ।

एफआईआर दर्ता भएपछि पुलिस अधीक्षकले गठन गरेको विशेष टोलीले राजपाल चौक (छिन्दवाडा) बाट डा. सोनीलाई राति नै पक्राउ गरेको हो। यही चिकित्सकले ती बालबालिकालाई घातक कफ सिरप लेखेको पुष्टि भएको छ। यो कारबाही स्वास्थ्य विभागका बीएमओ डा. अंकित सल्लामको उजुरीमा आधारित हो।

शनिबार तमिलनाडुबाट आएको परीक्षण प्रतिवेदनमा कोल्ड्रिफ कफ सिरपमा डायथिलीन ग्लाइकोलको मात्रा अत्यधिक रहेको पुष्टि भएको थियो। त्यसपछि डा. सल्लामको उजुरीमा डा. सोनी र कम्पनीविरुद्ध बीएनएस धारा २७६ (औषधिमा मिलावट), धारा १०५(३) (आपराधिक मानव वध) र ड्रग्स एन्ड कस्मेटिक्स एक्ट १९४० की धारा २७(ए)(iii) तथा २६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यी धाराहरू अनुसार १० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ।

डा. अंकित सल्लामका अनुसार, प्रारम्भिक प्रमाणहरूमा देखिएको छ कि उपचारमा प्रयोग गरिएको औषधि एडल्टरेटेड (मिलावटी) थियो। रिपोर्टको आधारमा नै एफआईआर दर्ता गरिएको हो। स्वास्थ्य विभागले यस घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताउँदै उनले भने, “बालबालिकाको मृत्युको वास्तविक कारण पत्ता लगाउन वैज्ञानिक र चिकित्सकीय दुबै स्तरमा जाँच भइरहेको छ। यदि अन्य कसैको लापरवाही प्रमाणित भयो भने कडा कारबाही गरिनेछ।” डा. सल्लामले अभिभावकहरूलाई बिना डाक्टरको सल्लाहमा कुनै पनि सिरप नदिने आग्रह गरेका छन्।

उल्लेख्य, परासिया विकासखण्डमा हालसम्म किड्नी फेल हुँदा ११ बालबालिकाको मृत्यु भइसकेको छ र अझै केही बालबालिका अस्पतालमा उपचाररत छन्। मृतक सबै १ देखि ५ वर्ष उमेरका बालक हुन्। ती सबै डा. प्रवीण सोनीको क्लिनिकमा सर्दी, खोकी र ज्वरोको उपचारका लागि पुगेका थिए। चिकित्सकले तिनीहरूलाई कोल्ड्रिफ कफ सिरप दिएको थियो। सिरप पिएपछि प्रारम्भमा लक्षण ठीक भए पनि दुई दिनपछि बालबालिकाको पिसाब बन्द हुन थाल्यो र अन्ततः मृत्यु भयो। आरोप छ कि उक्त औषधि चार वर्षभन्दा कम उमेरका बालबालिकालाई दिन नहुने थियो।

मामलापछि मुख्यमन्त्री डा. मोहन यादवले घटनालाई दुःखद् बताउँदै प्रत्येक मृत बालकको परिवारलाई ४–४ लाख रुपियाँको आर्थिक सहायता दिने घोषणा गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande