भारत उनीहरूको हो, जसले प्रत्येक युगमा यसलाई सम्हाले: सह सरकार्यवाह अरुण कुमार
Arun Kumar


इन्दौर, ५ अक्टोबर (हि.स.)। महानगरको ऐतिहासिक डेली कलेजमा राष्ट्रिय स्वयंसेवक सङ्घका सह सरकार्यवाह अरुण कुमारले जब मञ्च सम्हाले, त्यस क्षण उनको पहिलो प्रश्नले नै सम्पूर्ण विमर्शको सार प्रकट गर्‍यो। “राष्ट्र कसको हो, यो प्रश्न नै आखिर कसरी उठ्यो?” यो प्रश्न केवल विचारोत्तेजक होइन, त्यो मानसिक विचलनको प्रतीक हो जुन स्वतन्त्रतापछि क्रमशः हाम्रो राष्ट्रिय संवादमा प्रवेश गर्न थाल्यो, जब भारतको अस्मितालाई टुक्र्याउने प्रयासहरू तीव्र भए र यो प्रश्न खडा गरियो कि “राष्ट्र कसको हो?”

अरुण कुमारले शनिबार इन्दौरमा आयोजित सङ्घको आदराञ्जली कार्यक्रममा आफ्नो सम्बोधनका क्रममा भने, यो राष्ट्र कुनै ‘नयाँ निर्माण’ को परिणाम होइन, बरु हजारौँ वर्षदेखि चलिआएको निरन्तर सभ्यतागत यात्राको परिणाम हो। यो न कुनै शासनको उपहार हो, न कुनै सत्ताको निर्णयको नतिजा। भारत त्यो भूमि हो जसलाई यसका पूर्वजहरूले आफ्नो त्याग, तप र बलिदानबाट गढेका छन्।

र यही भावनाले यस विचारको केन्द्रिय सार बताउँछ, भारत तिनैको हो, जसका पूर्वजहरूले हरेक दुःख सहेर पनि यसलाई जोगाए र सम्हालेका छन्।

राष्ट्रभक्तिमाथि बोल्दै अरुण कुमारले भने, “राष्ट्रभक्ति केवल जय–जयकारमा होइन, प्रत्येक पल समाज र राष्ट्रका लागि बाँच्ने भावनामा निहित छ। आज जब देशभक्ति नाराहरू र प्रतीकहरूमा सीमित भइरहेको छ, यस्तो सोच आत्ममन्थनको आवश्यकता बताउँछ। भारतीय परम्परामा राष्ट्रभक्ति भावनात्मक होइन, यो आचरण र आस्थाको विषय हो। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ यही भावना हो। संघको दृष्टिमा राष्ट्रभक्ति केवल सीमाको रक्षा होइन, समाजको निर्माण र प्रगतिको निरन्तर प्रयास हो। हामीले के पाउन सक्छौं होइन, हामीले राष्ट्रलाई के दिन सक्छौं, यही प्रत्येक स्वयंसेवकको जीवन सूत्र हो।

अरुण कुमारले “सनातन र निरन्तर” को विचार प्रस्तुत गर्दै भने, भारत कुनै राजनीतिक सिमानाले बाँधिएको नयाँ देश होइन, यो सभ्यताको जीवित निरन्तरता हो।

संघ संस्थापक डा. हेडगेवारले भनेका थिए, “हामी संघ बनाउन होइन, समाज निर्माण गर्न आएका हौं।” यो भनाइ संघको गहिरो दर्शन झल्काउँछ, जहाँ राष्ट्रलाई समाजको चेतनासँग जोडिएको छ। भारतको राष्ट्रभाव ती ऋषि, सैनिक, किसान, मातृशक्तिहरूको तपस्याबाट बनेको हो जसले आक्रमणहरूको अनेक लहरबीच पनि राष्ट्र आत्मालाई जीवित राखे।

अरुण कुमारका अनुसार, संघको कुनै पनि कार्यक्रम गीतबिना अपूर्ण हुन्छ। संघका गीतहरू केवल स्वर होइनन्, तिनीहरू देश, भूमि, वीर र मातृशक्तिप्रति कृतज्ञताको प्रतीक हुन्। यी गीतहरूले स्वयंसेवकलाई स्मरण गराउँछन् कि उनको प्रत्येक सास राष्ट्रको सेवा हो। आजको सांस्कृतिक विस्मरणको युगमा यी गीतहरूले युवालाई आफ्नो मूल पहिचानसँग पुनः जोड्ने कार्य गरेका छन्।

अरुण कुमारले स्पष्ट गरे कि संघको स्थापना राजनीतिक शक्ति प्राप्तिका लागि होइन, सामाजिक पुनर्निर्माणका लागि गरिएको हो।

हेडगेवारले भनेका थिए, “संघ समाजको आत्मामा राष्ट्रभावना जगाउने कार्य गर्नेछ।” ग्राम विकास, शिक्षा, सेवा, पर्यावरण, र स्वावलम्बनका क्षेत्रमा संघको कार्य समाजको सहकार्यबाट सम्भव भएको उनले बताए। “हामीले केही गरेका होइनौं, समाजले गरेको हो,” यही संघ दर्शनको सार हो।

संघले आफ्नो शताब्दी वर्ष मनाइरहेकोमा अरुण कुमारले भने, “यो केवल उत्सव होइन, आत्मचिन्तनको अवसर हो। के हामी समाजले दिएको विश्वासका योग्य छौं? राष्ट्र केवल गर्वको विषय होइन, जिम्मेवारीको बोध पनि हो। समाजले दिएको प्रेम र भरोसा फर्काउनु नै हाम्रो नैतिक कर्तव्य हो। उनले जोड दिए, भारतको राष्ट्रकल्पना केवल राजनीतिक सीमामा होइन, आध्यात्मिक र सांस्कृतिक एकतामा आधारित छ।

महर्षि अरविन्दका शब्दमा “भारत एक जीवित शक्ति हो, जसले आफ्नो आत्माका माध्यमबाट संसारलाई मार्गदर्शन दिन जन्म लिएको हो।” संघ यही भावनालाई आफ्नो कार्यमार्फत जीवन्त राख्दै आएको छ।

अरुण कुमारले भने, “भारत कुनै एक धर्म, जाति वा वर्गको होइन, यो तिनैको हो, जसले यस भूमि, जल, वायु र संस्कृतिको रक्षा गर्न आफूलाई समर्पित गरेका छन्। यो देश ती ऋषिहरूको हो, जसले ज्ञान दिए, ती सैनिकहरूको हो, जसले सीमाहरूको रक्षा गरे, ती किसानहरूको हो, जसले धरती सिंचे र ती माताहरूको हो, जसले आफ्ना पुत्रहरू राष्ट्रका लागि समर्पित गरे। भारत भूमि होइन, यो तपस्या, बलिदान र सेवाको संगम हो। त्यसैले, भारत तिनैको हो, जसका पूर्वजहरूले प्रत्येक कष्ट सहेर पनि यसलाई जोगाए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande