भारतीय नौसेनालाई तटीय क्षेत्रमा शत्रुहरू सामना गर्न अझ सजिलो हुनेछ
नयाँ दिल्ली, ६ अक्टोबर (हि.स.)। भारतीय नौसेनाले सोमबार विशाखापत्तनमस्थित नौसेना डकयार्डमा दोस्रो पनडुब्बी–रोधी युद्धक उथला जल पोत (एएसडब्लयू–एसडब्ल्यूसी) आईएनएस एन्ड्रोथ आफ्नो समुद्री बेडामा समावेश गरेको छ। यो पोत अत्याधुनिक हतियार, सेन्सर र सञ्चार प्रणालीले सुसज्जित छ, जसका कारण यसले सतह मुनिका खतराहरूलाई उच्च सटीकताका साथ पत्ता लगाई निष्क्रिय पार्न सक्छ। यसले नौसेनाको समुद्री क्षमतामा वृद्दि गर्नेछ र तटीय क्षेत्रमा शत्रुहरूको सामना गर्न थप सहजता ल्याउनेछ।
नौसेनाले आईएनएस एन्ड्रोथलाई ८० प्रतिशतभन्दा बढी स्वदेशी सामग्री प्रयोग गरेर बनाइएको भारतको समुद्री आत्मनिर्भरताको प्रतीकका रूपमा वर्णन गरेको छ। यो पोत ७७ मिटर लम्बाइ र करिब १५०० टन विस्थापन क्षमतासहित विशेष गरी तटीय र उथला पानीमा पनडुब्बी–रोधी अभियानका लागि डिजाइन गरिएको हो। अत्याधुनिक मेसिनरी र नियन्त्रण प्रणालीले सुसज्जित यो पोत लामो समयसम्म उथला पानीमा सञ्चालन गर्न सक्षम छ।
कोलकातास्थित गार्डन रीच शिपबिल्डर्स एण्ड इन्जिनियर्सद्वारा निर्मित यो पोत समुद्री डिजेल इन्जिनद्वारा सञ्चालित हुनेछ। यसको क्षमता समुद्री निगरानी, खोज तथा उद्धार, तटीय सुरक्षा मिशन र न्यून तीव्रताका समुद्री अभियानहरूसम्म विस्तारित छ। आईएनएस एन्ड्रोथको भूमिका तटीय क्षेत्रमा शत्रुका खतराहरूको सामना गर्न अत्यन्त महत्वपूर्ण रहनेछ। यस जहाजको समावेशीकरण भारतको स्वदेशीकरण, नवप्रवर्तन र क्षमतावृद्धिमा निरन्तर जोड दिने प्रयासको प्रमाणका रूपमा रहेको नौसेनाले जनाएको छ।
जहाजको नाम लक्षद्वीप समूहको सबैभन्दा उत्तरी टापु ‘एन्ड्रोथ’ को नाममा राखिएको हो, जुन भारतको समुद्री क्षेत्रमा ऐतिहासिक र रणनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
कमिशनिङ समारोहमा पूर्वी नौसेना कमान्डका फ्ल्याग अफिसर कमाण्डिङ–इन–चिफ भाइस एडमिरल राजेश पेंढारकरले जहाजका विभिन्न भागहरूको अवलोकन गर्दै यसको निर्माण यात्रा र नयाँ स्वदेशी क्षमताबारे विस्तृत जानकारी लिए। उनले कमिशनिङ टोली र जीआरएसईका अधिकारीहरूसँग भेट गरी आईएनएस एन्ड्रोथको समयमै सफल तैनाथीका लागि उनीहरूको समर्पित प्रयासको प्रशंसा गरे।
--------------
हिन्दुस्थान समाचार / भवानी थामी