कोलकाता, 06 अक्टोबर (हि.स.)। उत्तर बंगालमा बाढीले मच्चाएको विनाशको निरीक्षण गर्न पुगेका भारतीय जनता पार्टी (भाजपा) का सांसद खगेन मुर्मू र विधायक शंकर घोषमाथि सोमबार हमला भएको छ। भिडबीच घटेको घटनामा सांसद मुर्मू घाइते भएका छन् भने शंकर घोषको गाडीमा ढुंगामुढा हुँदा गाडीका सिसा फुटेका छन्। प्राप्त भिडियोमा सांसद मुर्मू रगतले लथपथ देखिएका छन्।
भाजपाका अनुसार, यो घटना आज नागराकाटा–बामनडांगा क्षेत्रमा त्यतिबेला भयो जब मालदा उत्तरका सांसद खगेन मुर्मू र सिलगढ़ीका विधायक शंकर घोष राहत कार्यको अवस्थाको निरीक्षण गर्न पुगेका थिए। दुबै नेता सुरक्षा कर्मीको घेराभित्र पैदलै बाढीग्रस्त क्षेत्रमा जाँदै थिए, त्यही बेला भिडमा रहेका केही व्यक्तिहरूले हातपात शुरु गरे। यसक्रममा कसैले पछाडिबाट शंकर घोषलाई धक्का दियो। स्थिति बिग्रँदै गएपछि सुरक्षाकर्मीहरूले नेताहरूलाई सुरक्षित निकाल्ने प्रयास गरे।
प्रत्यक्षदर्शीका अनुसार, सांसद मुर्मूमाथि पछाडिबाट प्रहार भयो, जसले गर्दा उनको अनुहार र नाकमा चोट लाग्यो र रगत बग्न थाल्यो। कुनैगरी उनी आफ्नो गाडीमा पुग्न सफल भए, तर भिडमा रहेका केही व्यक्तिहरूले गाडीमाथि पनि इँटा प्रहार गरे, जसले गर्दा सिसा फुट्यो।
भाजपाको तृणमूलमाथि आरोप
घटनापछि भाजपाले तृणमूल कांग्रेसमाथि तीव्र आक्रोश व्यक्त गरेको छ। प्रदेश अध्यक्ष शमिक भट्टाचार्यले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,
“आज नागराकाटामा तृणमूलका गुण्डाहरूले सांसद खगेन मुर्मूमाथि हमला गरे। यो राज्यमा अब कानून होइन, अपराधीहरूको शासन चलिरहेको छ। उत्तर बंगाल बाढीले तहस–नहस भइरहेको बेला मुख्यमन्त्री ममता ब्यानर्जी उत्सवमा व्यस्त थिइन् र आज उनकी पार्टीका कार्यकर्ताले यो ताण्डव मच्चाएका छन्।”
तृणमूलको प्रतिक्रिया
उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले यी आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै भने, “घटना स्थलमा विरोध गर्नेहरूका हातमा कुनै राजनीतिक दलको झण्डा थिएन। त्यसैले तृणमूल कांग्रेसको नाम यस घटनामा तान्नु गलत हो।” हाल घटनापछि क्षेत्रमा तनावपूर्ण स्थिति छ। पुलिसले सुरक्षा व्यवस्था कडा पारेको छ र घटनाको जाँच सुरु गरेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी