भुवनेश्वर, 06 अक्टोबर (हि.स.)। ओडिशा राज्यको कटकमा दुर्गा पूजा विसर्जन शोभायात्रामा ढुंगा प्रहार भएपछि अवस्था अत्यन्त तनावपूर्ण बनेको छ। स्थिति नियन्त्रणमा राख्नका लागि कमिश्नरेट पुलिसले आइतवार राति १० बजेबाट शहरका १३ थाना क्षेत्रमा ३६ घण्टाको कर्फ्यु लागू गरेको छ। ती क्षेत्रहरू हुन् — दरगाह बजार, मंगलाबाग, क्यान्टोन्मेन्ट, पुरी घाट, लालबाग, बिडानासी, मर्कटनगर, सीडीए फेज-II, मालगोडाम, बादामबाडी, जगतपुर, ४२ मौजा र सदर थाना।
पुलिस आयुक्त एस. देवदत्त सिंहका अनुसार, परिस्थितिको विस्तृत समीक्षा पश्चात् कर्फ्यु लगाउने निर्णय गरिएको हो। उनले चेतावनी दिएका छन् कि कर्फ्यु उल्लंघन वा शान्ति भंग गर्ने प्रयास गर्नेहरूमाथि कडा कारबाही गरिनेछ।
यसैबीच, ओडिशाका प्रहरी महानिदेशक वाई.बी. खुरानियाले आइतवार कटकको अवस्थाको समीक्षा गर्दै नागरिकहरूलाई संयमित रहन र प्रशासनसँग सहयोग गर्न अपिल गरेका छन्। उनले भने, “जनताले केवल पुलिस वेबसाइटमा उपलब्ध प्रमाणित सूचनामाथि मात्र भरोसा गर्नुपर्छ।” मुख्यमन्त्री मोहन चरण माझीले डीजीपीलाई कटकमा क्याम्प गर्न निर्देशन दिएका छन्।
ओडिशा सरकारले पनि कटकका केही क्षेत्रमा इन्टरनेट र सामाजिक सञ्जाल सेवा अस्थायी रूपमा निलम्बन गरेको छ। गृहमन्त्रालयका अनुसार, यो कदम व्हाट्सऐप, फेसबुक, एक्स, इन्स्टाग्राम र स्न्यापच्याट जस्ता प्लेटफर्ममार्फत फैलिरहेका अफवाह, भड्काउने र भ्रामक सन्देशहरू रोक्नका लागि उठाइएको हो।
उलक्लेखनीय छ, शुक्रवार राति शहरको दारगाह बजार इलाकामा दुर्गा विसर्जन जुलुसका क्रममा ढुंगा प्रहार भएको थियो, जसमा कटकका पुलिस उपायुक्त ऋषिकेश खिलारीसहित धेरै व्यक्ति घाइते भएका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी