दार्जिलिङमा विनाशकारी वर्षा, १२ घण्टामा २६१ मिमी पानी परेपछि पैह्रोको चपेटामा परेर २० जनाको मृत्यु, मुख्यमन्त्री उत्तर बंगाल जाने
Darjeeling-landslide


सिलगढ़ी (पश्चिम बंगाल), 6 अक्टोबर (हि.स.)। उत्तर बंगालको दार्जिलिङ र छेउछाउका क्षेत्रहरूमा लगातार परिरहेको भीषण वर्षाले ठूलो विनाश ल्याएको छ। गत शनिबार राति परेको भारी वर्षाका कारण धेरै ठाउँमा पैह्रो गएको छ। पैह्रोको चपेटामा परेर हालसम्म कम्तीमा २० जनाको मृत्यु पुष्टि भएको छ भने धेरै पर्यटकहरू विभिन्न स्थानहरूमा फसेका छन्। राज्य सरकारले राहत र उद्धार कार्य तीव्र पारेको छ। मुख्यमन्त्री ममता ब्यानर्जी आज स्वयं उत्तर बंगाल पुगेर अवस्थाको समीक्षा गर्नेछिन्।

२७ वर्षपछि यस्तो विनाश:

स्थानीय बासिन्दाहरूका अनुसार, यति भीषण स्थिति पछिल्ला २७ वर्षमा देखिएको थिएन। यसअघि सन् १९९८ मा यस्तै प्रकोप आएको थियो। मिरिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ धेरै घर र सडक धसिएका छन् भने केही पुलहरू बगेर नष्ट भएका छन्। मिरिक क्षेत्रमा सबैभन्दा बढी जनहानि पनि भएको छ।

राहत कार्यमा सेना, एनडीआरएफ र स्थानीय प्रशासन सक्रिय:

राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ), राज्य विपद् बल, सेना र स्थानीय पुलिस संयुक्त रूपमा उद्धार कार्यमा खटिएका छन्। यद्यपि लगातार खराब मौसमका कारण धेरैपटक कार्य अवरुद्ध भएको छ। दुधिया, डाम्फेटार र धारगाउँ क्षेत्रमा घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। यहाँ रहेका केही होमस्टे र बीएसएफको क्याम्प पनि क्षतिग्रस्त भएको छ।

मुख्यमन्त्री ममता ब्यानर्जीको प्रतिक्रिया:

ममताले भनिन्, “दुर्घटना कसैको हातमा हुँदैन। हामी सबै दुखी छौं। म बिहानदेखि नवन्नस्थित नियन्त्रण कक्षबाट स्थिति निगरानी गरिरहेको छु। पाँच जिल्लाका अधिकारीहरूसँग भिडियो कन्फरेन्सिङमार्फत कुराकानी गरेकी छु। सोमबार दिउँसो तीन बजेसम्म म उत्तर बंगाल पुग्नेछु।”

प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुले पनि मृतकका परिवारप्रति शोक व्यक्त गरेका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखे, “दार्जिलिङ र आसपासका क्षेत्रमा परेको भारी वर्षा र पैह्रोको स्थिति माथि केन्द्र सरकारको गम्भीर नजर छ। पीडितहरूलाई आवश्यक सबै सहयोग प्रदान गरिनेछ।”

सडक सम्पर्क ठप्प, पर्यटक फसे:

भीषण पहिरो र पुल भत्किँदा सिलगढ़ी, दार्जिलिङ, कलेबुङ र सिक्किमबीचको सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ। सिलगढ़ीदेखि सिक्किम र कलेबुङ जाने राजमार्ग नं. १० बन्द छ। टिस्टा नदीको पानी सडकमा बगिरहेको रिपोर्ट आएको छ। वैकल्पिक मार्ग ७१७ पनि बन्द छ। त्यसैगरी सिलगढ़ी–दार्जिलिङ मार्ग (राजमार्ग ५५) र रोहिणी रोडमा पनि आवागमन बन्द छ। दुधिया पुल भत्किएपछि मिरिकको सम्पर्क लगभग टुटेको छ।

तर केही वैकल्पिक मार्ग, जस्तै पंखाबारी रोड र दार्जिलिङ–मङ्गपू मार्गमा आंशिक यातायात सुरु गरिएको छ। प्रशासनले मिरिकमा फसेका पर्यटकहरूलाई लोहागढ मार्ग हुँदै सिलगढ़ी ल्याउने व्यवस्था गरेको छ। ममताले पर्यटकहरूलाई आग्रह गरेकी छन्, “कृपया डराउनु हुँदैन, जहाँ हुनुहुन्छ त्यहीँ रहनुहोस्। होटल सञ्चालकहरूले कुनै अतिरिक्त भाडा नलिनुहोस्। सबैलाई सुरक्षित फर्काउने जिम्मा सरकारले लिएको छ।”

राजनीतिक र प्रशासनिक प्रतिक्रिया:

तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले पनि दार्जिलिङको प्रकोपप्रति चिन्ता व्यक्त गर्दै कार्यकर्ताहरूलाई पीडितहरूको सहयोगमा जुट्न निर्देशन दिएका छन्। उनले भने, “माँ दुर्गाको आशीर्वादले हामी यो संकटबाट पार पाउनेछौं।”

जीटीए प्रमुख तथा प्रजातान्त्रिक मोर्चाका नेता अनीत थापाका अनुसार, केवल मिरिक क्षेत्रमा १५ जनाको मृत्यु भएको छ।

दार्जिलिङका सांसद राजु बिष्टले केन्द्र सरकारसँग राज्यलाई आपद्ग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् र राहत कार्यमा भाजपा कार्यकर्ताहरू पनि सक्रिय रहेको बताएका छन्।

कसरी भयो यो तबाही:

शनिवार रातिदेखि सुरु भएको मुसलधारे वर्षाले पहाडहरू हल्लाइदिएको छ। लगातार वर्षापछि धेरै ठाउँमा पैह्रो एको हो। दुधिया, सौरेनी, डम्फेटार र दिलाराम क्षेत्रमा घर र सडकहरू बगेर गएको रिपोर्ट छ। टिस्टा र दुधे नदीहरूमा जलस्तर खतराको सीमाभन्दा माथि पुगेको छ। प्रशासनले जनतालाई उच्च क्षेत्रमा जान र सतर्क रहन आग्रह गरेको छ। राहत शिविरहरूमा भोजन र स्वास्थ्य सुविधा उपलब्ध गराइएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande