बिहारको राजधानी पटनामा पनि मेट्रो ट्रेन दौडियो, मुख्यमन्त्री नीतिश कुमारले देखाए हरियो झण्डा
बिहारको राजधानी पटनामा पनि मेट्रो ट्रेन दौडियो, मुख्यमन्त्री नीतिश कुमारले देखाए हरियो झण्डा


पटना, 06 अक्टोबर (हि.स.)। बिहारमा मेट्रो ट्रेनको प्रतीक्षा अन्ततः समाप्त भएको छ। मुख्यमन्त्री नीतिश कुमारले सोमबार पटना मेट्रोलाई हरियो झण्डा देखाउँदै उद्घाटन गरेसँगै राज्यले पहिलो मेट्रो ट्रेनको सौगात पाएको छ।

मुख्यमन्त्रीले उद्घाटनपछि स्वयं मेट्रोमा बसेर पहिलो यात्रा अनुभव गरे। यस अवसरमा राज्य सरकारका विभिन्न मन्त्रीहरू र वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।

नीतिश कुमारले करिडोर–वन अन्तर्गत पटना जंक्शनसहित ६ वटा भूमिगत मेट्रो स्टेशन र ९.३५ किलोमिटर लामो सुरुङको शिलान्यास पनि गरे। उद्घाटनपछि मेट्रो पाटलिपुत्र आईएसबीटी डिपोबाट निस्केर नयाँ आईएसबीटी स्टेशन पुग्यो, जुन पटना मेट्रोको पहिलो स्टेशन हुनेछ। यहाँबाट मेट्रो जीरो माइल स्टेशन हुँदै भूतनाथ स्टेशनसम्म चल्नेछ। हाललाई यही तीन स्टेशनबीच नियमित सेवा सुरु गरिएको छ।

मेट्रोको सञ्चालन बिहान ८ बजेदेखि राति १० बजेसम्म हुनेछ। यात्रुको सुविधाका लागि हरेक २० मिनेटको अन्तरालमा मेट्रो उपलब्ध हुनेछ। दैनिक करिब ४०–४२ फेरा सञ्चालन हुनेछन्। मेट्रोमा ३ कोच हुनेछन्, जसमा ९४५ यात्रु अटाउन सक्नेछन्, प्रत्येक कोचमा करिब ३०५ यात्री यात्रा गर्न सक्छन्। एक कोचमा १४७ यात्री बस्ने र बाँकी उभिएर यात्रा गर्न सक्ने व्यवस्था छ। महिलाहरू र अपाङ्गजनका लागि प्रत्येक कोचमा १२ सिट आरक्षित गरिएको छ।

हाल मेट्रो न्यू पाटलिपुत्र बस टर्मिनल–जीरो माइल–भूतनाथ स्टेशनबीच चल्नेछ। यस वर्षभित्र नै यसको विस्तार खेमनीचक र मलाही पकडीसम्म गरिनेछ। सम्पूर्ण परियोजना सञ्चालन भएपछि मेट्रोले प्रति यात्रा करिब ९०० यात्रु बोक्नेछ।

किराया दर:

आइएसबीटीदेखि जीरो माइलसम्म ₹१५, न्यू आइएसबीटीदेखि भूतनाथ स्टेशनसम्म ₹३० अर्थात्, न्यूनतम किराया ₹१५ र अधिकतम किराया ₹३० रहनेछ।

मेट्रोका कोचहरूलाई विशेष रूपमा मधुबनी चित्रकलाले सजाइएको छ, जसले बिहारको समृद्ध सांस्कृतिक विरासत झल्काउँछ। कोचका भित्री भागमा गोलघर, महावीर मन्दिर, महाबोधि वृक्ष, बुद्ध स्तूप र नालन्दा अवशेष जस्ता विश्वप्रसिद्ध स्थलका आकर्षक स्टिकरहरू टाँसिएका छन्।

यस उद्घाटनसँगै पटनामा आधुनिक यातायातको नयाँ युग सुरु भएको छ, जसले शहरवासीहरूको दैनिक यात्रा सहज र सुविधाजनक बनाउनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande