नयाँ दिल्ली, ०७ अक्टोबर (हिस.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान देशवासीहरूलाई महर्षि वाल्मीकि जयन्तीको अवसरमा शुभकामना दिएका छन्। महर्षि वाल्मीकि संस्कृत भाषाका आदिकवि तथा हिन्दू महाकाव्य रामायणका रचयिता मानिन्छन्। उहाँको जीवन एक डाकुबाट महान ऋषिमा रूपान्तरण हुने प्रेरणादायी कथा हो।
प्रधानमन्त्री मोदीले आफ्नो एक्स पोस्ट र व्हाट्सएप च्यानलमा लेखेका छन्, “सबै देशवासीहरूलाई महर्षि वाल्मीकि जयन्तीको हार्दिक शुभकामना। प्राचीनकालदेखि नै हाम्रो समाज र परिवारमा उहाँका सात्विक र आदर्श विचारहरूको गहिरो प्रभाव रहँदै आएको छ। सामाजिक समरसतामा आधारित उहाँका वैचारिक प्रकाशपुञ्जले सदा देशवासीहरूलाई आलोकित बनाइरहनेछन्।”किंवदन्तीअनुसार, आदिकवि बन्नु अघि वाल्मीकि रत्नाकर नामका व्यक्ति थिए। उनी आफ्नो परिवारको पालनपोषणका लागि बाटोमा हिँड्ने मानिसहरूलाई लुट्थे। एक दिन उनले नारद मुनिलाई लुट्ने प्रयास गरे, तर नारदका वचन्ले उनको हृदय परिवर्तन गर्यो। नारदले उनलाई भगवान रामको नाम जप्न सल्लाह दिए। रत्नाकरले वर्षौंसम्म कठोर तपस्या गरे, जस क्रममा उनको शरीर वरिपरि दीमकको ढिस्को बनेको थियो। संस्कृतमा दीमकको ढिस्कोलाई ‘वाल्मीक’ भनिन्छ, त्यसैले उनलाई वाल्मीकि नाम दिइयो।
भनिन्छ, एकपटक जब उनी गङ्गा नदीमा स्नान गर्दै थिए, उनले एउटा शिकारीले क्रौञ्च पक्षीका जोडीमध्ये एकलाई मारेको देखे। यो दृश्य देखेपछि उनले अनायासै एउटा शाप उच्चारे, जुन संस्कृतको पहिलो श्लोक बन्यो। त्यसपछि नारद मुनिले उनलाई सो घटनालाई आधार बनाई रामायण लेख्न निर्देशन दिए। यसरी उनले भगवान रामको जीवनमा आधारित महाकाव्यको रचना गरे। संस्कृतको पहिलो महाकाव्यका रचयिता भएकाले उनी “आदिकवि”का रूपमा प्रसिद्ध भए, र तपस्या तथा ज्ञानका कारण “महर्षि”को उपाधि प्राप्त गरे।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी