मध्य प्रदेशमा कफ सिरपका कारण बालबालिकाको मृत्युको क्रम जारी, संख्या १७ पुग्यो
मध्य प्रदेशमा कफ सिरपका कारण बालबालिकाको मृत्युको क्रम जारी, संख्या १७ पुग्यो


भोपाल, ०७ अक्टोबर (हि.स.)। तमिलनाडुमा निर्मित कफ सिरपले मध्य प्रदेशमा ठूलो त्रासदी ल्याएको छ। सोमबार छिन्दवाडाको एक बालिकाको मृत्यु भएपछि मृतक बालबालिकाको संख्या १७ पुगेको छ। ताजा घटनामा तामिया जुनापानीका नवीन डेहरियाको डेढ वर्षीया छोरीको उपचार नागपुर मेडिकल कलेजमा भइरहेको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो।

उल्लेखनीय छ, ‘कोल्ड्रिफ’ कफ सिरप सेवनपछि धेरै बालबालिकाको मिर्गौला फेल भएको पाइएको छ, जसले राज्यभर ठूलो हलचल मच्चाएको छ। घटनाको कारण पत्ता लगाउन मध्य प्रदेश पुलिसको विशेष अनुसन्धान टोली तमिलनाडु पठाइएको छ। परीक्षणमा उक्त सिरपमा डायथिलिन ग्लायकलको मात्रा ४८.६ प्रतिशत पाइएको थियो, जुन अत्यन्तै विषाक्त र मानव स्वास्थ्यका लागि घातक रसायन हो। त्यसपछि तमिलनाडु सरकारले ३ अक्टोबरमा श्रेसन फार्मा कम्पनीको उत्पादन तत्काल रोक्ने आदेश दियो। अब मध्य प्रदेश पुलिसले सो कारखानाको विस्तृत अनुसन्धान गर्नेछ, ताकि उत्पादनमा भएको लापरवाही र विषाक्त सिरप बजारसम्म कसरी पुगेको हो, त्यो पत्ता लागोस्।

छिन्दवाडाका पुलिस अधीक्षक अजय पाण्डेका अनुसार, एसआईटी मंगलबार कारखानामा पुगेर सिरप उत्पादनमा प्रयोग भएका रासायनिक तत्वहरूको परीक्षण र उत्पादन प्रक्रियामा भएको त्रुटिको अनुसन्धान गर्नेछ। अनुसन्धानपछि एफआईआरमा थप धाराहरू जोडिने र आरोपितहरूको संख्या पनि बढ्न सक्ने बताइएको छ।

यस घटनाले प्रशासनिक सुस्ततालाई पनि उजागर गरेको छ। पहिलो मृत्यु ४ सेप्टेम्बरमा भएको थियो, तर मृत्यु संख्या दोहोरो अंकमा पुगेपछि र मिडियामा समाचार फैलिएपछि मात्र प्रशासन सक्रिय भयो। सोमबार राज्य सरकारले ड्रग कन्ट्रोलर दिनेशकुमार मौर्यलाई पदमुक्त गर्‍यो र उप–ड्रग कन्ट्रोलर शोभित कोष्टा, छिन्दवाडाका औषधि निरीक्षक गौरव शर्मा तथा जबलपुरका निरीक्षक शरदकुमार जैनलाई निलम्बित गर्‍यो। यी अधिकारीहरू माथि बिक्री रोक्न ढिलाइ गरेको, पर्याप्त नमूना नलिएको र रिपोर्ट आउन अनावश्यक विलम्ब गराएको आरोप लागेको छ।

यसबीच, राष्ट्रिय मानव अधिकार आयोगले पनि घटनाको गम्भीर संज्ञान लिएको छ। आयोगले मध्य प्रदेश, राजस्थान र उत्तर प्रदेश सरकारहरूलाई नोटिस जारी गर्दै बालबालिकाको मृत्युका कारणको अनुसन्धान गर्न र नकली वा संदिग्ध औषधिको बिक्री तुरुन्त रोक्न निर्देशन दिएको छ। साथै, स्वास्थ्य मन्त्रालय, औषधि नियन्त्रण महा–निदेशालय र केन्द्रिय औषधि मानक नियन्त्रण संगठनलाई देशभर यस्ता औषधिको आपूर्ति जाँच गर्न आदेश दिएको छ।

आयोगका सदस्य प्रियंक कानूनगोले भने, “देशभर कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु अत्यन्त गम्भीर विषय हो। सम्बन्धित राज्य र केन्द्रिय निकायहरूलाई तुरुन्त बिक्री रोक्न र नमूना परीक्षणको रिपोर्ट पेश गर्न निर्देशन दिएका छौं। यसमा संलग्न वा लापरवाह अधिकारी र कम्पनीहरूमाथि कडा कारबाही हुनेछ।”

घटनापछि हरियाणा, झारखण्ड, महाराष्ट्र र कर्नाटक सरकारले पनि कोल्ड्रिफ सिरपको बिक्रीमा प्रतिबन्ध लगाएका छन्। झारखण्ड सरकारले रेस्पीफ्रेस र रिलिफ कफ सिरप जस्ता अन्य ब्रान्डहरू पनि प्रतिबन्धित गरेका छन्।

मुख्यमन्त्री डा. मोहन यादवले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै आफ्ना सबै कार्यक्रम रद्द गरी सोमबार आफैं परासिया पुगेर पीडित परिवारसँग भेट गरे। उनले भने, “यो पीडा केवल पीडित परिवारको होइन, पूरै प्रदेशको पीडा हो। दोषीहरूलाई कुनै हालतमा पनि बख्सािने छैन।” उनले तत्काल जिम्मेवार अधिकारीहरूलाई पदमुक्त गर्ने आदेश दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande