कोलकाता, 08 अक्टोबर (हि. स.)। उत्तर बंगालका पर्वतीय क्षेत्र, तराई अनि डुवर्स क्षेत्रमा आएको बाढ़ी तथा पैह्रोको स्थिति अब स्थिर भएको छ। बितेको 24 घण्टाभित्रमा कुनै नयाँ मृत्यु भएको खबर प्राप्त भएको छैन। अधिकारीहरूले बताए, बितेको एक दिनदेखिको पानी नपरेको कारणले राहत, बचाउ अनि पुनर्वास कार्य द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ।
दार्जीलिङ जिल्ला प्रशासनका एकजना वरिष्ठ अधिकारीले बताए, जिल्लाका केही सड़कहरूको मरम्मत गरिसकिएको छ तथापि पहाड़ अनि मैदानलाई जोड़्ने मुख्य सड़क अहिले पनि बन्द नै छ। उनले बताए, तीनघारे रोड र पंखाबारी रोड जस्तो वैकल्पिक मार्गबाट पर्यटकहरूलाई सुरक्षित रूपमा मैदान तर्फ ल्याइँदैछ। अधिकांश पर्यटकहरू अब सिलगढ़ी पुगिसकेका छन्।
मौसम विभाग अनुसार आगामी 24 घण्टामा उत्तर बंगालमा भारी वर्षा हुने सम्भावना छैन। तथापि बुधवार दार्जीलिङ, जलपाईगुड़ी र कुचबिहार जिल्लामा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरिएको छ जसको लागि यल्लो अलर्ट जारी गरिएको छ।
मुख्यमन्त्री ममता ब्यनर्जी जसले बितेको दुई दिनदेखिको उत्तर बंगालमा बसेर स्थितिको जायजा लिएकी थिइन्, बुधवार अपरान्ह कोलकाता फर्किसकेकी छन्। उनले चाँड़ै नै प्रभावित क्षेत्रमा प्रशासनिक कदमहरूको विस्तृत रिपोर्ट दिने सम्भावना छ। गए मंगलवार आफ्नो भ्रमणावधि मुख्यमन्त्रीले सिलगढ़ीको एक अस्पतालमा भर्ती भाजपा सांसद खगन मुर्मूसित भेट गरेकी थिइन् जसलाई जलपाईगुड़ी जिल्लाको बामुनडांगामा हमला भएपछि भर्ती गरिएको थियो। यस घटनामा विधानसभामा भाजपाका मुख्य सचेतक शंकर घोष पनि घाइते भएका थिए। उनी पनि सोही अस्पतालमा भर्ती भएका छन् तथापि उनले मुख्यमन्त्रीसित भेट गर्न अस्वीकार गरिदिए।
यसबीच भाजपाका आईटी सेल प्रमुख औ पश्चिम बंगाल प्रभारी अमित मालवीयले मुख्यमन्त्रीको दौड़ाहमाथि कटाक्ष गर्दै सोशल मीडियामा भने, “यो कुनै नौलो कुरा होइन कि मुख्यमन्त्रीले एकपटक फेरि बामुनडांगाको घटनापछि सस्तो लोकप्रियता हासिल गर्ने प्रयास गरेकी छन् जसलाई विगत लामो समयदेखिकै बंगलादेशीहरूको बसावटको लागि चर्चित छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा