गान्तोक, 08 अक्टोबर (हि.स.)। पाकिम जिल्लाको डुगास्थित स्थानीय सामुदायिक हलमा आज मुख्यमन्त्री जन सहयोग अभियान सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रम मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी पहल सुनौलो, समृद्ध अनि समर्थक सिक्किम अन्तर्गत आयोजना गरिएको हो, जसको उद्देश्य जन कल्याण प्रवर्द्धनका साथै जागरुकता फैलाउनु र राज्यको समग्र विकास सुनिश्चित गर्नु रहेको छ।
कार्यक्रम विधायक एलबी दासको अध्यक्षतामा सम्पन्न गरियो। यस अवसरमा सहकारी विभागकी चेयरपर्सन बिन्ध्या विश्वकर्म, अधिवक्ता टेम्पो ग्याछो भोटिया लगायत अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
मुख्यमन्त्री कार्यालयकी विधिक परामर्शक अधिवक्ता पूजा लामिछानेले कार्यक्रम आयोजन गर्नुको उद्देश्यमाथि प्रकाश पारेकी थिइन्। उनले मुख्यमन्त्री जन सहयोग अभियानले नागरिकहरूमा जागरुकता फैलाउने, न्यायसम्म पहुॅंच सुनिश्चित गर्ने तथा राज्यको कल्याण र विकास पहलहरूमा सक्रिय सहभागिताको लागि प्रोत्साहित गर्ने लक्ष्य लिएको बताइन्।
अधिवक्ता टाशी बासीले पोक्सो अधिनियम, बाल सुरक्षा कानुन र राज्य सरकारका विभिन्न कल्याण योजनाहरूको बारेमा जानकारी गराएका थिए। यसैगरी, डा. राजीव गुरुङले मानसिक स्वास्थ्य, सरिता ठटालले घट्दो प्रजनन दर, अधिवक्ता डा. कमल अधिकारीले घरेलू हिंसा अधिनियम र साइबर क्राइम निवारणमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा अन्तरक्रिया सत्र पनि राखिएको थियो, जसमा सहभागीहरूले कानुन, सामाजिक कल्याण र स्वास्थ्य सम्बन्धित प्रश्नहरू गरे। कार्यक्रममा उपस्थित स्रोत वक्ताहरू र विधायकले यी प्रश्नहरूको उत्तर दिएका थिए।
हिन्दुस्थान समाचार / बिशाल