सोनादा, 08 अक्टोबर (हि.स.)। सुखे पोखरी खण्ड अन्तर्गत नागरी धजे समष्टिको मलट पुल बजार, एभनग्रोभ बगर फार्म स्टे गत 5 अक्टोबरको बिहान बालासन नदीले बगाएर लगेको थियो। उक्त फार्म स्टेमा जम्मा 9 जना पर्यटकहरु रहेका थिए भने सबैलाई सुरक्षित स्थानमा सारिएको छ। तर यस फार्म स्टेको एकजना भोलेन्टियर हराएका छन्।
उनलाई बालासन नदीले बगाएको आशंका गरिएको थियो। उनी 24 परगानाबाट यहाँ आएर भोलेन्टियर रुपमा होम स्टे विषयमा सिक्दै आइरहेको जानकारी प्राप्त भएको छ।उनको नाम हिमान्द्री पुरोकित (25 वर्ष) रहेको बताइएको छ। उनी गत 5 अक्टोबर बिहानदेखि बेपत्ता छन्। उक्त व्यक्तिलाई खोज्न तथा उद्धार कार्यको लागि जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको पहलमा एनडीआरएफको टिमले खोजी अभियान शुरु गरिएको छ।
यस खोजी अभियानको लागि एनडीआरएफको 15 सदस्यीय टोली घटनास्थलमा आइपुगेको छ। एनडीआरएफको 15 सदस्यीय टोलीलाई उक्त क्षेत्रमा नै डेपुटी चेयरम्यान राजेस चौहानको पहलमा राखिएको छ। गत 5 अक्टोबर बिहान बालासन नदीले लापत्ता बनाएका 24 परगानाका हिमान्द्री पुरोकितको परिवार पनि कोलकाताबाट उनलाई खोज्न आएका छन्। उनको परिवारसित जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले भेट गरेका थिए।
उनले बेपत्ता पुरोकितलाई खोज्नलाई जीटीएबाट भरमग्दुर सहयोग गर्ने परिवारलाई आश्वासन दिएका छन्। उनले हिमान्द्रीको परिवारलाई यहाँ ल्याउनु र बस्ने व्यवस्था जीटीए प्रशासनले गरेको पनि जानकारी गराएका छन्। अब एनडीआरएफको टोलीले नि:खोज रहेका हिमान्द्री पुरोकितलाई खोज्ने कार्य गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक