खरसाङ, 08 अक्टोबर (हि.स.)। खरसाङको रोहिणी रोड (सुवास घिसिङ मार्ग) मरमत्तिको कार्य शुरु भएको छ। गत 5 अक्टोबरको बिहानै पैह्रोले सडक मार्ग ध्वस्त भएपछि बन्द भएको रोहिणी रोड खोलाउन मरमत्ति कार्य शुरु गरिएको हो। रोहिणी रोड खोलाउन लगभग एकदेखि डेढ महिना अथवा डेढदेखि दुई महिना लाग्न सक्ने बताइएको छ।
खरसाङको गौरी शंकर चियाबारीदेखि केही मुनि रहेको रोहिणी रोडमा पैह्रो गएपछि दार्जिलिङ र खरसाङबाट सिलगढी जाने सबै गाडीहरु राष्ट्रिय राजमार्ग 110 भएर कुदिरहेको छ भने रोहिणी रोड खोलाउन सडक मरमत्तिको कार्य शुरु गरिएको छ। पैह्रोले वाधित रोहिणी रोडको मरमत्तिको लागि मंगलबारदेखि चियाबारी क्षेत्रबाट जेसीबी लगाएर कार्य शुरु गरिएको थियो। अब पैह्रो क्षेत्रमा अझ अर्को पनि जेसीबी लगाएर मरमत्तिको कार्य गरिने बताइएको छ।
यसका साथै अहिले श्रमिकहरुले पनि मरमत्तिको कार्य शुरु गरेका छन् भने मौसम अनुकूल भएर अधिक संख्यामा श्रमिकहरु खटाएर रातदिन कार्य शुरु गरिने बताइएको छ। यसका लागि राति काम गर्नको लागि लाइट लगाउने व्यवस्था गरिने भएको छ। हालमा रोहिणी रोड भएर केवल बाइक र स्कुटीहरु मात्रै कुदिरहेका छन् भने गाडीहरुको चलाचल बन्द छ।
रोहिणी रोडमा गएको पैह्रो मरमत्तिको लागि कार्य अहिले युद्धस्तरमा चलिरहेको छ। रोहिणी रोडमा पैह्रो मरमत्तिको कार्य खरसाङ इञ्जिनियरिङ डिभिजनद्वारा भइरहेको छ। यस कार्यमा केएडीका सहायक अभियन्ता सुदन बराईली, देवाशिष रुम्बा, ठेकेदार चन्दन तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। मौसम अनुकूल रहे दुईवटा जेसीबी र श्रमिकहरु पनि बढाएर पैह्रो मरमत्तिको कार्य युद्धस्तरमा गरिने बताइएको छ।
खरसाङ इञ्जिनियरिङ डिभिजनका सहायक अभियन्ता सुदन बराइलीले रोहिणी रोडमा पैह्रो मरमत्तिको कार्य शुरु गरिएको बताउँदै शुरुमा बगानबाट एनओसी लिएर जेसीबी लगाउने कार्य गरिएको बताए। उनले मौसमले साथ दिए लगभग एक डेढदेखि दुई महिनाभित्रमा मरमत्ति कार्य पूरा गरिने जानकारी गराए। उनले मौसम अनुकूल रहेमा बिहिवारदेखि फाउण्डेशनको कार्य थालिने बताएका छन्।
ठेकेदार चन्दन तामाङले रोहिणी रोडमा पैह्रो मरमत्तिको कार्य शुरु गरिएको र अहिले काम एकदमै युद्धस्तरमा चलिरहेको बताए। उनले मौसमले साथ दिए श्रमिकहरु पनि बढाएर कार्य गरिने र जतिसक्दो छिटो काम गरेर पूरा गर्ने बताए। उनले यस कामको लागि दिन साथै रातमा पनि काम गर्ने योजना रहेको र कामको लागि सामानहरु सबै झार्ने काम चलिरहेको बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक