गेजिङ, 08 अक्टोबर (हि.स.)। योक्सम टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत भीरकुना गाउॅं, लबिङमा आज स्थानीय पञ्जीकृत एनजीओ सहारा समाजको चौथो स्थापना दिवस भव्यरूपमा मनाइयो। यस दश दिवसीय समारोहको शुरुवात गत 29 सेप्टेम्बरका दिन फुटसल टुर्नामेन्ट र सांस्कृतिक कार्यक्रमहरूको साथमा गरिएको थियो। आज समापन समारोहमा महिला र पुरुष फुटसल टुर्नामेन्टको फाइनलसॅंगै विभिन्न खेलकुद गतिविधिहरू सम्पन्न गरियो।
खुला पुरुष फुटसल टुर्नामेन्टमा कुल 38 दलले भाग लिएको थियो। समारोह अन्तर्गत विभिन्न विद्यालयहरूबीच प्रश्नोत्तर प्रतियोगिता, स्थानीय युवाहरूबीच टग अफ् वार प्रतियोगिता, सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको थियो। कार्यक्रममा राज्य औषधीय वनस्पति बोर्डका सल्लाहकार एनबी लिम्बू मुख्य अतिथि थिए।
नशामुक्त अभियान थीममा आयोजित समारोहमा सेवालुङ समाजद्वारा समाजमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरूलाई सम्मानित गरियो। मुख्य अतिथि लिम्बूले आफ्नो सम्बोधनमा सहारा समाजलाई चौथो स्थापना दिवसको बधाई दिॅंदै समाजले सामाजिक उत्थानको दिशामा गरिरहेका कार्यहरूको सराहना गरे। उनले मन्त्री एवं क्षेत्र विधायक टीटी भोटियाको पक्षमा पनि समाज र जनसाधारणलाई बधाई एवं शुभकामना व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल