बंगालदेखि अलग हुने कार्यक्रम हो भने हामीलाई जहाँ बोलाउॅंछ, त्यहाँ जान हामी तयार छौँ: अजय एडवर्ड्स
ajoy edwards


दार्जिलिङ, 10 नोभेम्बर (हि.स.)। बंगालदेखि अलग हुने कार्यक्रम हो भने हामीलाई जहाँ बोलाउँछ, त्यहाँ जान हामी तयार छौँ भनी इण्डियन गोर्खा जनशक्ति फ्रण्टको मुख्य संयोजक अजय एडवर्ड्ले बताएका छन्।

एडवर्ड्सले भने, 'गोर्खा जनमुक्ति मोर्चाले बोलाएको सर्वदलीय बैठकमा हामी उपस्थित हुन सकेनौँ। महिना दिन अघि नै शहीद खडका माया शर्माको सालिग उद्घाटनको कार्यक्रम तय भएको हुनाले आयोजित सर्वदलीय बैठकमा उपस्थित हुन सकेनौँ। मैले यस विषयमा गोर्खा जनमुक्ति मोर्चाको संस्थापक अध्यक्ष बिमल गुरूङलाई पत्र लेखेर जानकारी गराउने कार्य गरिसकेको छु। शहीदको कार्यक्रम स्थगित गर्न मिल्दैन, बंगालदेखि अलग हुने निर्णय हो भने तपाईहरूले हामीलाई जहाँ बोलाउनु हुन्छ हामी त्यहाँ आउन तयार छौँ।'

उनले भने, यदि बंगालभित्रकै कुनै व्यवस्था, प्याकेज, जीटीए जस्तै व्यवस्थाको लागि हो भने हामी त्यसमा सहभागिता जनाउन सक्दैनौं। बंगालदेखि अलग हुने तथा छुटिने कार्यक्रम हो भने हामीलाई जहाँ बोलाउँछ हामी त्यहाँ आई पुग्नेछौँ।'

एडवर्ड्सले अघि भने, 'हामी भाजपा गठबन्धनमा छैनौँ। भाजपाले झुक्काउँदै आएको सबैलाई थाहाँ छ। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति प्राणको आहुति दिनेहरूलाई हामीले भूल्न हुँदैन। केन्द्र सरकारले नियुक्ति गरेको इन्टरलोक्युटरलाई हामीले एक सुनौलो अवसरको रूपमा हेरेका छौँ। त्यसकारण हामीले इन्टरलोक्युटरलाई भित्रै आत्मादेखि नै स्वागत जनाएका छौँ।'

उनले इन्टरलोक्युटरसॅंग भेट गर्ने र आफ्नो पक्ष स्पष्ट रूपमा राख्ने बताए। उनले हाम्रो माग बंगालदेखि अलग हुनु हो र यो कुरा हामी इन्टरलोक्युटर समक्ष स्पष्टसॅंग राख्ने छौँ भने।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande