
गान्तोक, 10 नोभेम्बर (हि.स.)। नेपाली साहित्य परिषद्, सिक्किमले 11 नोभेम्बरका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको 116औं जन्मजयन्ती समारोह आयोजन गर्ने भएको छ। परिषद् भवनमा आयोजना गरिने यस समारोहमा सबैलाई उपस्थित भइदिन परिषद्ले निवेदन गरेको छ।
परिषद्का प्रचार सचिव जोसेफ लेप्चाले आज जारी प्रेस विज्ञप्तिमा भने, नेपाली साहित्य परिषद्, सिक्किमले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मितिको आधारमा १२ नोभेम्बरका दिन पालन गर्दै आइरहेको छ। तथापि यस वर्ष ११ नोभेम्बर सरकारी विदा परेको हुनाले यस कार्यक्रममा सबैको सहभागिता रहोस् भन्ने उद्देश्य लिँदै परिषद्ले यस वर्ष ११ नोभेम्बर, २०२५ का दिन महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती समारोह परिषद् भवनकै सभाकक्षमा बिहान ११ः३० बजीदेखि आयोजन गर्ने निश्चय गरेको छ।
यस समारोहमा कविगोष्ठी, महाकविको व्यक्तित्व एवम् कृतित्व साथै खण्डकाव्य मुना–मदन र वर्तमान समाज–माथि वार्ता, पुस्तक लोकार्पण, साङ्गीतिक कार्यक्रम आदि आयोजन गरिने भएको छ। यस अतिरिक्त कार्यक्रममा वरिष्ठ कवि तथा अनुवादक अमर बानियाँ ‘लोहोरो’ लाई परिषद्ले अभिनन्दन जनाउने छ। अनुवादक बानियॉंले डा. निर्मल वालियाद्वारा लिखित उपन्यास वतन–लाई मातृभूमि नाममा नेपाली भाषामा अनुवाद गरेका हुन्। यसै अनुवाद कृतिका निम्ति उनी राष्ट्रको प्रतिष्ठित साहित्य अकादेमी पुरस्कार, २०२४ द्वारा अलङ्कृत भएका छन्।
परिषद्ले यस समारोहमा परिषद्का सदस्य-सदस्या लगायत भाषा–साहित्यानुरागीहरूलाई उपस्थित भइदिन सादर निवेदन गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल