पाकिममा 'सरदार@150- युनिटी मार्च' अभियान आयोजन गरिने
Unity march


गान्तोक, 10 नोभेम्बर (हि.स.)। पाकिम जिल्लामा आगामी 18 नोभेम्बरका दिन 'सरदार@150- युनिटी मार्च' अभियान आयोजना गरिने भएको छ। यस पदयात्रामा लगभग 500 जना सहभागी बन्ने आशा व्यक्त गरिएको छ। प्रेस क्लब अफ् सिक्किममा आज आयोजित एक पत्रकार सम्मेलनमा खेल एवं युवा मामिला मन्त्रालयका उप निदेशक मङ्गल जाखरले उक्त जानकारी दिए।

उनले 'सरदार@150- युनिटी मार्च' अभियान गत 16 अक्टोबरका दिन देशव्यापीरूपमा शुरु गरिएको जानकारी गराए। यसै अभियान अन्तर्गत गान्तोकमा हालैमा पदयात्रा आयोजन गरिएको र आगामी 18 नोभेम्बरका दिन पाकिममा पनि पदयात्रा आयोजना गरिने बताए। उनले राज्यका अन्य जिल्लाहरूमा पनि पदयात्रा आयोजना गरिने बताए।

उनले बिहान 9:30 बजी शुरू हुने यस पदयात्रामा 500 भन्दा धेरै सहभागी बन्ने बताए, जसमा विद्यार्थी, सेना, एसएसबी, एनडीआरएफ, खेलाड़ी, जनप्रतिनिधिहरू, अधिकारीहरू आदि सामेल रहनेछन्।

उप निदेशकले फिट इण्डिया र आत्मनिर्भर भारतको सन्देशका साथ आयोजना गरिने यो पदयात्रा देशव्यापी रूपमा वर्षभरि चल्ने जानकारी गराए। उनले यस राष्ट्रिय अभियानमा सबैलाई सक्रियरूपमा सहभागी बन्न र एकताबद्ध अनि सशक्त भारतको सन्देश दिन आह्वान गरे।

भारतीय महिला फुटबल दल अण्डर-17 की खेलाड़ी पाकिम निवासी अभिष्ट बस्नेतले आगामी 18 नोभेम्बरका दिन पाकिममा हुने यस पदयात्रामा सबै विद्यार्थीहरू र युवाहरूलाई सहभागी बन्न अपील गरिन्। उनले यस पदयात्रालाई सफल बनाएर अविस्मरणीय बनाउन आह्वान गरिन्।

यसै क्रममा डीआईओ डिकी भोटियाले पदयात्राको सुचारू रूपमा आयोजन सुनिश्चित गर्न कमिटी गठन गरिएको बताइन्। डीएसीदेखि पाकिम सामुदायिक हलसम्म आयोजना गरिने यस पदयात्रा अतिरिक्त विभिन्न स्वयं सहायता समूह र विभागद्वारा स्टलहरू पनि राखिने जानकारी गराइन्।

यस अवसरमा पाकिमका एनएसएस समन्वयक कर्म शेर्पा पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande