सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ
सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ


सोरेङ, 19 नोभेम्बर (हि.स.)। सोरेङ जिल्ला पुलिस एउटा डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गरी आरोपीलाई पक्राउ गर्न सफल भएको छ। उक्त प्रकरणमा लगभग दश लाख रुपियाँको ठगी भएको थियो। यस सम्बन्धमा यसै वर्ष 22 अगस्तमा सोम्बारिया पुलिस थानामा मामिला दर्ता गरिएको थियो।

सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज जारी प्रेस विज्ञप्तिमा भने, विश्वभर साइबर अपराधका घटनाहरू तीव्र रूपमा बढिरहेका छन् र सिक्किम पनि यस जोखिमबाट अछुतो छैन। धेरै नागरिकहरू यस किसिमका अपराधको शिकार बनेका छन्, जसका कारण उनीहरूले ठूलो आर्थिक क्षति र मानसिक पीडा बेहोर्नु परेको छ। यस समस्यालाई नियन्त्रण गर्न सिक्किम पुलिसले राज्यभरि निरन्तर साइबर अपराध नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ। यस अन्तर्गत शैक्षिक संस्था, नागरिक समाज संगठन र गैर–सरकारी संस्थाहरूमा जनचेतना कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।

सोरेङ जिल्ला पुलिसले पञ्जाबस्थित अन्तरराज्यीय साइबर आपराधिक नेटवर्कसँग सम्बद्ध एक अआरोपीलाई सफलतापूर्वक ट्र्याक गरी पक्राउ गरेको पुलिस अधीक्षकले बताएका छन्। यस प्रकरणमा एक अवकाशप्राप्त सरकारी कर्मचारीबाट “डिजिटल अरेस्ट” प्रविधिबाट दश लाख रुपियाँ ठगी गरिएको थियो। शिकायतकर्ताले आधिकारिक साइबर अपराध रिपोर्टिङ पोर्टलमार्फत मामिला दर्ता गरेका थिए। उनले सबैलाई साइबर अपराध सम्बन्धी घटना तुरुन्तै www.cybercrime.gov.in मा अथवा हेल्पलाइन: १९३० मा अथवा नजिकको पुलिस थानामा शिकायत गर्न अनुरोध गरेका छन्।

उनले सोरेङ जिल्ला पुलिसले साइबर ठगीविरुद्धको आफ्नो अटुट प्रतिबद्धता दोहोर्‍याउंदै नागरिकहरूलाई अनलाइन सुरक्षाका अभ्यास अपनाउन तथा सजग रहन अपील गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande