भगवान श्री सत्य साई बाबाको जन्म शताब्दी भक्तिभाव एवं हर्षोल्लासपूर्वक पालन गरियो
Sri Satya Sai Baba


दार्जिलिङ, 23 नोभेम्बर (हि.स.)। भगवान श्री सत्य साई बाबाको 100औं जयन्ती विश्वव्यापीरूपमा पूर्ण भक्तिभाव एवं हर्षोल्लासपूर्वक मनाइयो। यसै क्रममा तक्दाह दवाईपानी श्री सत्य साई संगठनले पनि आज तक्दाह चिया बगानको स्कूल धुरास्थित राम मन्दिरमा विभिन्न गतिविधिहरूका साथमा भगवान श्री सत्य साई बाबाको जन्म शताब्दी भव्यरूपमा पालन गऱ्यो।

ओमकारम्, दिप प्रज्जवलन, त्री गायत्री, वेदपाठ पश्चात केक काटेर शुभारम्भ गरिएको कार्यक्रममा समितिका पदाधिकारीहरू र भक्तजनको बाक्लो उपस्थिति रहेको थियो। यस अवसरमा साई अनुयायीहरूको बाहुलीद्वारा भजन विमोचन कार्यक्रम पनि सम्पन्न गरियो। फिरोज गुरुङको शब्द र सङ्गीतबद्ध भजनमा योगेश मोक्तान, वाङ्गे गुरुङ, सृष्टि प्रधान र प्रकृति तामाङले स्वर दिएका छन्।

कार्यक्रममा प्रशान्ति निलयमबाट प्रकाशित र वर्षेनी भगवान श्री सत्य साई बाबाको जयन्तीमा विमोचन हुॅंदै आइरहेको नेपाली पत्रिका 'ओम् स्वर्णिमा' पनि सार्वजनिक गरियो। जन्म शताब्दीको अर्को मुख्य आकर्षण वृद्ध-वृद्धाहरूको सम्मान कार्यक्रम थियो। यस कार्यक्रम अन्तर्गत क्षेत्रका सात जना वृद्ध-वृद्धाहरूलाई न्यानो ज्याकेट, शल र सिरक प्रदान गरि सम्मानित गरियो।

संगठनका वरिष्ठ साई अनुयायी एसडी मोक्तानले भगवान श्री सत्य साई बाबाको जन्म शतवार्षिकी विषयमा सम्बोधन राखेका थिए। यसपछि, भजन, मंगल आरती र प्रसादमपछि कार्यक्रम समापन गरियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande