मंदारमणिमा समुद्रमा डुबेको युवकको शव दुई दिनपछि भेटियो
मंदारमणिमा समुद्रमा डुबेको युवकको शव दुई दिनपछि भेटियो


पूर्व मेदिनीपुर, 24 नोभेम्बर (हि. स.)। मंदारमणि समुद्र तटमा दुई दिनपूर्व बेपत्ता भएका एकजना युवकको शव सोमवार बिहान मछुआराहरूको जालमा फसेको भेटियो। शव भेटिएको सूचना पाउनसाथ घटनास्थलमा पुगेको कोस्टल थानाको पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। यस घटनाले फेरि एकपटक पर्यटकहरूको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

जानकारी अनुसार गत शनिवार पूर्व बर्दवान निवासी 24 वर्षीय सूरज बसु आफ्ना चारजना साथीहरूसित मंदारमणि घुम्न गएका थिए। होटलमा कोठा बुक गरेपछि सबै समुद्रमा नुहाउनको लागि गए।

स्थानीय सूत्र अनुसार समुद्रको उच्च छालहरूले अचानक सूरजलाई आफू तर्फ ताने। साथीहरूले बुझ्नअघि नै उ गहिरो पानीमा डुब्यो। तुरून्त पुलिसलाई खबर दिइयो। त्यसपछि खोजी अभियान शुरू गरियो, तर दुई दिनसम्म लगातार अभियान चलाइए पनि कुनै सफलता हात लागेन। यसबीच सूरजको परिवार पनि मंदारमणि आइपुगेको थियो जसले लगातार खोजी अभियानको जानकारी लिरहेको थियो।

सोमवार बिहान स्थानीय मछुआराहरूले बिछाएको जालमा शव फस्यो। पहिचान गर्दा उक्त शव सूरज बसुको रहेको पुष्टि भयो। पुलिसले उसलाई कांथी महकुमा अस्पतालमा पठाइदिएको छ। पोस्टमर्टमपछि शव परिवारलाई सुम्पिइनेछ।

सूरज बसु एकजना इञ्जीनियरिंग ग्रेजुएट थिए जो कोलकाताको एक निजी कम्पनीमा कार्यरत थिए। उनको परिवार पूर्व बर्दवानको भातारस्थित रविन्द्रपल्ली क्षेत्रमा बसोबास गर्दछन्। पिता पुलिस विभागमा पदस्थ छन् भने आमा स्वास्थ्य विभागमा कार्यरत छन्।

यस घटनापछि समुद्र तटमा पर्यटकहरूको सुरक्षा व्यवस्थालाई लिएर फेरि प्रश्न उठ्न थालेको छ। स्थानीय मानिसहरूको भनाइ छ, यसपूर्व पनि कैयौं पटक नुहाउन गएका पर्यटकहरूको मृत्यु भइसकेको छ, तर पनि सुरक्षा व्यवस्थामा पर्याप्त सुधार भइरहेको छैन। मानिसहरूले सोधिरहेका छन्, समुद्र उर्लिएको बेला पर्यटकहरूलाई खतरनाक स्थानमा जानदेखि किन रोकिँदैन?

यद्यपि पूर्व मेदिनीपुर जिल्ला पुलिसको भनाइ छ, समुद्र तटमा लगातार निगरानी राखिन्छ साथै पर्यटकहरूलाई बारम्बार चेताउनी दिइन्छ। तर केही पर्यटकहरूले चेताउनीवाई बेवास्ता गरी उर्लिएको लहरमा पस्छन् जसको परिणाम कैयौं पटक अत्यन्त पीड़ादायी हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande