राज्यपाल स्वर्ण कप: सिक्किम ड्रेगन्स एफसी सेमिफाइनलमा प्रवेश
Governor gold cup


गान्तोक, 24 नोभेम्बर (हि.स.)। सिक्किम ड्रेगन्स एफसी 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ। यहॉंको पाल्जोर स्टेडियममा जारी उक्त फुटबल टुर्नामेन्टको आज तेस्रो क्वार्टर फाइनल खेलमा सिक्किम ड्रेगन्स एफसीले प्रतिद्वन्दी नर्थइस्ट युनाइटेड एफसीलाई 2-1 गोलले पराजित गऱ्यो।

स्मरण रहोस्, नर्थइस्ट युनाइटेड एफसीले गत वर्ष राज्यपाल स्वर्ण कपको उपाधि आफ्नो नाम गरेको थियो। तर, यस पटक पहिलो खेलमै हारको सामना गर्नु परेको छ र टुर्नामेन्टबाट बाहिरिएको छ। अर्कोतिर, घरेलू फुटबल दल सिक्किम ड्रेगन्स एफसीले कड़ा टक्कर दिॅंदैन सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। आगामी 26 नोभेम्बरका दिन सेमिफाइनलमा सिक्किम ड्रेगन्सको राजस्थान युनाइटेड एफसीसॅंग भिडन्त हुनेछ।

आजको खेलमा पहिलो गोल नर्थइस्ट युनाइटेड एफसीले गरेको थियो। खेलको 34औं मिनटमा जर्सी नम्बर 32 मोचा इरोमले गोल गरेर नर्थइस्ट युनाइटेड एफसीलाई अग्रता दिलाएका थिए। तर, सिक्किम ड्रेगन्सका जर्सी नम्बर 11 माकन विङ्कल चोथेले 65 मिनटमा र जर्सी नम्बर 13 रिचमण्ड क्वासीले 69औं मिनटमा लगातार गोल गरेर आफ्नो दलको जित सुनिश्चित गरे। विजयी दलका गोलकिपर पदम छेत्रीको उत्कृष्ट प्रदर्शनको लागि उनलाई म्यान अफ् द म्याच चयन गरियो।

भोलि, सर्भिसेस् एफटी र इस्ट बंगाल एफसीबीच अन्तिम क्वार्टर फाइनल खेल सम्पन्न हुनेछ। आज सिक्किम राज्य लटरी निदेशालयका चेयरमेन वाईएन छेत्री मुख्य अतिथि थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande