
गान्तोक, 24 नोभेम्बर (हि.स.)। प्रेस क्लब अफ् सिक्किमले 23 नोभेम्बर, 2025 को दिन पत्रकार निर्मल मंगरको पक्षमा न्याय माग्दै गान्तोकको सदर पुलिस थानामा विवेक इन्टरटेनमेन्टविरुद्ध मुद्दा दर्ता गरेको छ। सामाजिक सञ्जाल फेसबुकमा विवेक इन्टरटेनमेन्ट पेज चलाउने पश्चिम सिक्किमको बोजेक निवासी विवेक छेत्रीले भिडियोमार्फत मनगढन्ते, आधारहीन बयानबाजी गर्दै निर्मल मंगरको सार्वजनिक रूपमा मानहानि गरेको प्रेस क्लबले बताएको छ।
प्रेस क्लबका प्रचार सचिव पंकज ढुङ्गेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, विवेक छेत्रीले यसअघि पनि पटक-पटक सिक्किमेली मिडिया जगतमाथि झुटा आरोपहरू लगाउँदै आएका हुन्। यसपल्ट उनले कुनै सत्य-तथ्य नबुझी आफ्नो भिडियोमा पत्रकार निर्मल मंगरको फोटोसमेत प्रेषण गरी उनीविरुद्ध तथानाम गाली गरे, जसले गर्दा पत्रकार निर्मल मंगरलाई मात्र होइन सम्पूर्ण प्रेस जगतलाई नै निशाना गरेको प्रेस क्लब अफ् सिक्किमले ठहर गरेको छ।
केही दिनअघि भएको एउटा आत्महत्याको घटनालाई लिएर सिक्किमलगायत राष्ट्रिय स्तरका मिडियाहरूले समाचार सम्प्रेषण गरेको थियो जसमा घटनास्थल र पीडितको नाम भने गोप्य राखेको थियो। पुलिसले दिएको डीएसआरमा उल्लेखित विषयलाई मात्र रिपोर्ट बनाएर सञ्चार जगतले समाचार सम्प्रेषण गरेको थियो। मिडियालाई गाली गर्ने निहु झिकेर केही व्यक्तिविशेषले पीडितको नाम र ठेगाना नै सार्वजनिक गरिरहेका छन्। प्रेस मिडियामा पुलिसले दिएको तथ्याङ्कबाहेक अरू सार्वजनिक भएका छैनन्।
मिडिया जगतलाई बदनाम गर्ने र कुनै व्यक्तिविशेषको मान मर्दन गर्ने जुन दुष्प्रयास गरिएको छ, त्यसलाई पत्रकार जगत र यसको संस्था प्रेस क्लबले सहन गर्नेछैन भनी विज्ञप्तिमा उल्लेख गरिएको छ। पत्रकारद्वारा प्रेषित कुनै विषयमा चित्त नबुझे अवश्यै विरोध गर्न र आलोचना गर्ने सबै नागरिकको अधिकार छ। तर सत्य-तथ्यलाई ताकमा राखेर सामाजिक सञ्जालमा आधारहीन र मनगढन्ते बयानबाजी गर्दै प्रेस जगत र पत्रकारको मानमर्दन गर्ने व्यक्तिलाई भने प्रेस क्लबले कानूनको कठघरामा उभ्याएर छाड्ने प्रेस क्लबले बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल