
कोलम्बो, २९ नोभेम्बर (हि.स.)। श्रीलङ्कामा चक्रवाती आँधी ‘दित्वा’ ले भीषण तबाही मच्चाएको छ। लगातार परिरहेको मुसलधारे वर्षा, बाढी र पैह्रोका कारण विभिन्न क्षेत्रमा स्थिति अत्यन्त गम्भीर बनेको छ। यस प्रकोपका कारण मृतकहरूको संख्या ६९ पुगेको छ भने ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता छन्, जसको खोजी कार्य जारी छ।
यस बीचमा धेरै पुल र सडक बगेर नष्ट हुँदा अवस्था थप जटिल बनेको छ। राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सूचना जारी गर्दै बिजुली, पेट्रोलियम पदार्थ तथा ग्यास, अस्पताल तथा खानेपानी आपूर्ति जस्ता सेवाहरूलाई आवश्यक सेवा घोषणा गरेका छन्।
डेली मिरर का अनुसार, मौसम विभागले श्रीलङ्कामा लगातार बनेको न्यून–दाब प्रणाली स्थिर रहेको र त्यसका कारण अत्यधिक चिसो हावा र बारम्बार उग्र छालहरू उठिरहेको बताएको छ। निरन्तरको वर्षाका कारण धेरै प्रमुख जलाशयहरू भरिएका छन्। शुक्रबार मोरागहाकान्डा जलाशय अधिकतम क्षमतासम्म पुगेपछि यसका स्पिल–गेट खोलिएका थिए, यही क्रममा मोरागहाकान्डा–लग्गाला पुल भत्कियो। यो पुल मटाले, पोलोन्नारुवा र कुरुनेगाला जिल्लाहरू बीच जोड्ने मुख्य पहुँचमार्ग थियो।
यस्तै हसलाका क्षेत्रमा याहंगला पर्वत नजिक ठूलो पैह्रो जाँदा ५ जनाको शव फेला परेको छ। देशका धेरै भागहरूमा पैह्रोको जोखिम अझै कायम रहेको र सतर्कता आवश्यक भएको अधिकारीहरूले बताएका छन्।
आपदा प्रबन्धन केन्द्र (डीएमसी) का अनुसार, १६ नोभेम्बरदेखि शुरु भएको यो प्रकोपले देशभरका ६३,००० भन्दा बढी परिवारका २,१९,२८६ जनालाई प्रभावित पारेको छ। यस आपदामा हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने ३४ भन्दा बढी मानिसहरू बेपत्ता छन्।
सरकारले विदेशमा रहेका श्रीलङ्कालीहरू र विदेशी नागरिकहरूले राहत कार्यमा सहयोग गर्न सक्ने घोषणा गरेको छ। राष्ट्रपति सञ्चार विभागका अनुसार, सहायता पठाउनका लागि आवश्यक ब्याङ्क विवरणहरू विदेशस्थित श्रीलङ्काली कूटनीतिक मिसनहरू तथा श्रीलङ्कामा रहेका विदेशी दूतावासहरूमा उपलब्ध गराइएको छ।
श्रीलङ्का सहायता लागि भारतले ‘अपरेशन सागर बन्धु’ शुरू गरेको छ। परराष्ट्र मन्त्री एस. जयशंकरले एक्समा जानकारी दिँदै आईएनएस विक्रान्त र आईएनएस उदयगिरिले कोलम्बोमा राहत सामग्री हस्तान्तरण गरिसकेको र काम निरन्तर भइरहेको बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूको सुरक्षा र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले भने, भारतको “नेबरहुड फर्स्ट” नीतिअनुसार, यो कठिन घडीमा भारत श्रीलङ्काको झनै मजबूतीसँग साथमा रहनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी