सिन्धियाले असममा ६३५ करोड रुपियाँका परियोजनाहरूको शिलान्यास गरे
सिन्धियाले असममा ६३५ करोड रुपियाँका परियोजनाहरूको शिलान्यास गरे


गुवाहाटी, 3 नोभेम्बर (हि.स.)। केन्द्रिय पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले सोमबार भारतीय प्राविधिक संस्थान (आईआईटी) गुवाहाटीमा उत्तरपूर्वी विज्ञान तथा प्रविधि क्लस्टरको उद्घाटन गर्दै असममा ६३५ करोड रुपियाँका विकास परियोजनाहरूको शिलान्यास गरेका छन्।

केन्द्रिय सञ्चार मन्त्रालयका अनुसार, सिन्धियाले ६५ नयाँ माध्यमिक विद्यालय भवनहरूको निर्माण, चायगाॅंउ–उकिउम सडकको स्तरोन्नति, सिलोनिजन–धनसिरी घाटमा आरसीसी पुल निर्माण र कोकराझार तथा बक्सा जिल्लामा औद्योगिक परिसरको विकासजस्ता परियोजनाहरूको शिलान्यास गरेका हुन्।

मन्त्रालयका अनुसार, आईआईटी गुवाहाटीमा २२.९८ करोड रुपियाँको लागतमा स्थापित एनईएसटी क्लस्टर उत्तरपूर्वी क्षेत्रको नवाचार पारिस्थितिकी तन्त्रको केन्द्र बन्नेछ। यो क्लस्टर चार प्रमुख क्षेत्रहरू स्थानीय नवाचार, सेमिकन्डक्टर तथा कृत्रिम बुद्धिमत्ता, बाँसमा आधारित प्रविधि र जैव–प्लास्टिकमा कार्य गर्नेछ।

सिन्धियाले यस अवसरमा जैव–अपघटनीय खेलौना निर्माणमा तालिमप्राप्त ३० ग्रामीण महिलाहरूलाई सम्मानित गरे र उनीहरूलाई आफ्ना साना उद्योग स्थापनाका लागि निरन्तर सहयोग प्रदान गरिने बताए। उनले उक्त महिलाहरूद्वारा नै तयार गरिएको एनईएसटी क्लस्टरको प्रतीक चिन्ह पनि सार्वजनिक गरे।

मन्त्रीले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उत्तरपूर्व अब भूमिले घेरिएको क्षेत्रबाट भूमि–सँग–जोडिएको, भविष्यका लागि तयार क्षेत्रमा रूपान्तरण भइसकेको छ।” उनले बोगीबील पुल, भूपेन हजारिका सेतु, सेला सुरुङ र जोगीघोपा बहु–माध्यमीय लॉजिस्टिक पार्कजस्ता परियोजनाहरूको उल्लेख गर्दै भने, यी सबैले असमको सम्पर्क सञ्जाललाई नयाँ उचाई दिइरहेका छन्।

यस कार्यक्रममा असम सरकारका वरिष्ठ अधिकारी, शिक्षण संस्थानका प्रतिनिधि तथा वैज्ञानिक समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande