भारतीय नौसेनाको जहाज ‘सावित्री’ मरिससको पोर्ट लुइस बन्दरगाहमा पुग्यो
Sabitri


– राष्ट्रिय तटरक्षक बलद्वारा जहाजको भव्य स्वागत

नयाँ दिल्ली, 3 नोभेम्बर (हि.स.)। भारतीय नौसेनाको पूर्वी बेडामा समावेश एक अपतटीय गस्ती पोत (ओपीवी) ‘सावित्री’ दक्षिण–पश्चिम हिन्द महासागर क्षेत्रमा दीर्घकालीन सञ्चालनात्मक तैनाथी अन्तर्गत मरिससको पोर्ट लुइस बन्दरगाहमा पुगेको छ। मरिससको राष्ट्रिय तटरक्षक बलले जहाजको भव्य र मैत्रीपूर्ण स्वागत गरेको छ। यस यात्राले भारत र मरिससबीचको दृढ रक्षा सहकार्यलाई पुनः पुष्टि गर्दै दुई देशबीचको साझेदारी आपसी विश्वास, साझा मूल्य र समान समुद्री हितहरूमा आधारित रहेको सन्देश दिएको छ।

भारतीय युद्धपोत सावित्रीले मरिससको राष्ट्रिय तटरक्षक बलका जहाज र विमानहरूसँग मिलेर संयुक्त अनन्य आर्थिक क्षेत्रमा निगरानी गतिविधि सञ्चालन गर्नेछ। यस संयुक्त निगरानीको उद्देश्य मरिससका समुद्री क्षेत्रहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै भारतीय नौसेना र मरिसस एनसीजीबीच समन्वय र अन्तर–सञ्चालन क्षमता बढाउनु हो। बन्दरगाहमा बसाइका क्रममा जहाजको चालक दल विभिन्न व्यावसायिक तथा सहयोगी अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुनेछ।

संयुक्त अभियान सञ्चालनका लागि मानक सञ्चालन प्रक्रिया सम्बन्धी तालिम पनि एनसीजीका कर्मचाऱ्यहरूलाई दिइनेछ। दुवै देशका नौसेनाका सदस्यहरूले मैत्रीपूर्ण खेल प्रतियोगिता मार्फत आपसी सम्बन्ध अझ प्रगाढ बनाउनेछन्।

यसका अतिरिक्त, जहाज स्थानीय नागरिकहरूको भ्रमणका लागि खुला रहनेछ, जसले समुद्री सुरक्षा र रक्षा सचेतना बढाउने र भारत–मॉरिसस सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande